बलात्कार आरोपमा चार जना पक्राउ

बलात्कार आरोपमा चार जना पक्राउ

दाङ । दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार किरणले ती युवतीलाई विवाह गर्ने बहाना बनाएर मंघरस्थित ह्युमपाइप बनाउने घरमा बोलाएका थिए । किरणलाई भेट्न बुधबार जाँदा त्यहाँ अन्य तीन जना पनि बसिरहेका थिए ।

उनीहरूले सामूहिक बलात्कार गरेपछि बिहीबार बिहान युवती इलाका प्रहरी कार्यालय गढवामा पुगेकी थिइन् । इलाका प्रहरी कार्यालयमा पुगेर उनले प्रहरी निरीक्षक कालिका कार्कीसँग घटनाबारे जानकारी गराइन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार किरण र ती युवती दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाह गर्ने प्रलोभनमा पारेर किरणले आफूमाथि बलात्कार गरेको र अन्य पुरूषले पनि बलात्कार गरेको प्रहरीसमक्ष उनले बयान दिएकी छिन् । डिएसपी थापाका अनुसार घटना किरणकै योजनामा भएको हो ।

‘दिउँसो उनीहरू चारै जनाले सँगै बसेर रक्सी खाएको र सोही क्रममा सामूहिक बलात्कारको योजना किरणकै सल्लाहमा बनेको खुल्छ,’ उनले भने । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय गढवाको थुनुवा कक्षमा राखिएको छ । उनीहरूविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लोकप्रिय