न्यायाधीशले चढने गरेको गाडिको ठक्करबाट एक महिलाको गयाे ज्यान

विराटनगर,भदाै २३ : जिल्ला अदालत मोरङमा सेवारत न्यायाधीश ईश्वर पराजुलीले चढने गरेको गाडिको ठक्करबाट विराटनगरमा मंगलबार साँझ एक महिलाको अकालमा ज्यान गएको छ।
निजी नम्बर प्लेटको बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा धनकुटाको महालक्ष्मी नगरपालिका–१ की ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। मृतक महिला अदालत परिषरमै रहेको क्यान्टिनकी सञ्चालक हुन्। अदालत परिसरमै पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कार बार तोड्दै क्यान्टिनभित्र छिरेर महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ५:१५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार पार्किङ गरेर राखिएको कार निकाल्ने क्रममा न्यायाधीश पराजुलीका अंगरक्षक प्रहरी हवल्दार विन्दकुमार सिंहले चलाएको खुलेको छ।
प्रहरी हवल्दारले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको खुलेको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दुर्घटना हुँदा न्यायाधीश पराजुली भने गाडीभित्र नरहेको जानकारी दिए। ‘अदालतभित्र पार्किङ गरेर राखेको ठाउँबाट निकालेरअगाडि बढाउने क्रममा गाडी आफै अनियन्त्रित भएर क्यान्टिनभित्र छिरेर दुर्घटना गराएछ,’ धमलाले भने, ‘त्यतिबेला गाडी कसले चलाएको थियोभन्ने बारेमा हामी बुझ्दै छौँ।’
तर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने दुर्घटना गराएका बेला कार न्यायाधीश पराजुलीका अंगरक्षक हवल्दार सिंहले चलाएको खुलेको हो। दुर्घटनापछि कार, हवल्दार सिंह र न्यायाधीशका स्थायी चालक चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अन्नपूर्ण अनलाइनबाट
प्रतिकृया दिनुहोस्