लोडसेडिङ हुँदा रमाउने जमात पनि देखियो – कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । उनले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको आरोप समेत पोखेका छन् ।
उनले भने, ‘नेपालमा नकारात्मक कुराहरूको जमात बढ्दो छ । देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् । तर विद्युत् प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ ।’
शुक्रबार एक कार्यक्रममा बोल्दै उनले धेरै पूर्वाधारहरू बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताएका हुन् । उनले भने, ‘हामीसँग बजेटको अभाव छ । लिमिटेड मात्र बजेट हामीसँग छ । धेरै पूर्वाधारहरू बनाउनुपर्नेछ ।
अर्थ मन्त्रालयबाट बजेटको धेरै आशा पनि गर्न सकिँदैन । तर यसमा राज्यले बढी हेर्नुपर्छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलाठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठूलो विकास हुनेछ, यसका लागि ठूलो लगानी आवश्यक छ । ठूला परियोजनाहरूका लागि वैदेशिक लगानी चाहिन्छ ।’
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र काली गण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने बताएका छन् ।


प्रतिकृया दिनुहोस्