पत्रकार महासंघ काठमाडौँ शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण
काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण संगै पद हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता अर्जुन नर्सिंङ केसी, नेकपा एमालेका अध्यक्ष महेश बर्ताैला, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायतले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । कार्यक्रममा पुराना पदाधिकारीहरुले नयाँलाई पद हस्तान्तरण गर्दै शुभकामना गरेका छन् ।
पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले राज्यको चौथौ अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रलाई थप नयाँ उचाईँमा पुर्याउनको लागि निश्पक्ष ढंगले लाग्न सुझाव दिएका छन् । देशमा भएका परिवर्तनको एउटा महत्वपूर्ण जिम्मेवारी मिडियाले पुरा गरेको स्मरण गर्दै प्रचण्डले आगामि दिनमा थप शसक्त भएर लाग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागि अन्य नेता तथा अग्रज पत्रकारहरुले पनि नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । यस अघि मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा काठमाडौँ जिल्ला अध्यक्षमा शोभा अर्याल, उपाध्यक्ष (खुल्ला)मा हेम बहादुर राना (कमल) र उपाध्यक्ष (समावेशी)मा कान्ति न्यौपाने निर्वाचित भएका थिए ।
यस्तै सचिवमा रमेश कुमार बोहोरा, सह–सचिव (खुल्ला)मा विक्रम रत्न, सह–सचिव (समावेशी)मा ईश्वरी अधिकारी (ईशा) र कोषध्यक्षमा राम चन्द्र कार्की (राम) निर्वाचित भएका थिए । यस्तै विभिन्न ८ जना खुल्ला सदस्य र ५ जना समावेशी सदस्य सहित २० सदस्यी कार्यसमिति निर्वाचित भएको थियो ।


प्रतिकृया दिनुहोस्