“विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
काठमाडौं/ त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्र, कीर्तिपुरमा “इन्क्युबेसन चरण तालिम कार्यक्रम” भव्य रूपमा उद्घाटन भएको छ। “विचारदेखि प्रभावसम्म : दिगो उद्यम निर्माण” भन्ने नाराका साथ श्रावण २७ देखि सुरु भएको यस तीन दिने कार्यक्रमले पूर्व–इन्क्युबेसनपछिको चरणमा रहेका दर्जनौँ युवा उद्यमीलाई अन्तिम प्रस्तुतीकरणको तयारीसम्म पुर्याउने लक्ष्य राखेको छ।
उद्घाटन सत्र : निर्देशक र उपनिर्देशकको मन्तव्य
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै केन्द्रका निर्देशक प्रा. तारा प्रसाद भुसालले नयाँ उद्यमीका विचारलाई ठोस र दिगो व्यवसायमा रूपान्तरण गर्न मार्गदर्शन, व्यवसाय विकास, बजार परीक्षण र लगानी तत्परताका चार आधारस्तम्भमा तालिम केन्द्रित रहेको बताउनुभयो।
“आजको विचार भोलिको प्रभाव बनोस् भन्ने हाम्रो अपेक्षा हो। केन्द्र सधैँ युवा उद्यमीहरूको यात्रामा साथी बनिरहनेछ,” उहाँले भन्नुभयो।
उपनिर्देशक डा. प्रमोद पौडेलले कार्यक्रमको नमुना ८० प्रतिशत कार्यशाला र २० प्रतिशत प्रस्तुतीकरणमा आधारित रहेको जानकारी दिँदै सहभागीहरूले सुनेर मात्र नभई प्रत्यक्ष अभ्यास गरेर सिक्ने अवसर पाउने बताउनुभयो। उहाँले सबै सहभागीलाई प्रश्न सोध्न नहिचकिचाउन र मार्गदर्शकहरूसँग खुलेर छलफल गर्न आग्रह गर्नुभयो।
पहिलो सत्र : पिच तयारी र कथन कला
पहिलो सत्रमा डिजिटल नेपालका संस्थापक तथा सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१८ का विजेता आदित्य राजले “पिच तयारी तथा कथन कला” विषयमा तालिम दिनुभयो। उहाँले सफल प्रस्तुतीकरणका लागि आफ्नो व्यवसायको कथा कसरी छोटो, प्रभावकारी र भावनात्मक रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा जोड दिनुभयो। क्रममा सहभागीहरूसँग व्यावहारिक कार्यशाला सञ्चालन गरिएको थियो। सहभागीहरूले आ–आफ्नो व्यवसायको संक्षिप्त प्रस्तुतीकरण तयार गरी अभ्याससमेत गरे।
दोस्रो सत्र : बजार तयारी र प्रस्तुतीकरणको निरन्तरता
दोस्रो सत्रमा डिजिटल एन्ड बियोन्डका श्री सगुन ढुंगाना र उहाँको समूहले नयाँ व्यवसायले बजारमा प्रवेश गर्नुअघि गर्नुपर्ने तयारीबारे प्रस्तुतीकरण दिनुभयो।
यस सत्रमा बिहान गरिएको प्रस्तुतीकरण तयारीलाई निरन्तरता दिँदै सहभागीहरूले आफ्ना प्रस्तुतीकरण थप परिष्कृत गर्ने अवसर पाए। ढुंगाना समूहले वास्तविक बजार परिस्थिति अनुरूपका उदाहरणसहित व्यावहारिक सुझाव दिएको थियो। सहभागीहरूले उक्त सत्र निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
आगामी कार्यक्रम
कार्यक्रमका आगामी दिनमा लगानी जोखिम तथा बजेट व्यवस्थापन, बजार प्रवेशको तयारी र अन्तिम प्रस्तुतीकरणसम्बन्धी सत्र सञ्चालन हुनेछन्। श्रावण २९ गते हुने अन्तिम प्रस्तुतीकरणमा सहभागीहरूले विज्ञ समूहसमक्ष आ–आफ्ना व्यवसाय योजना प्रस्तुत गर्नेछन्। कार्यक्रमको अन्त्यमा भाद्र १ गते आवश्यक कागजात तयारी तथा भाद्र २ गते पुरस्कार घोषणा गरिनेछ।
आयोजकका अनुसार तालिमको पहिलो दिन उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। सहभागीहरूमा आगामी सत्रप्रति थप जिज्ञासा र उत्साह देखिएको आयोजकले जनाएको छ।


प्रतिकृया दिनुहोस्