गठबन्धनका नेतासँग आक्राेसित हुँदै प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम
काठमाडौं – सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत सरकारले पूर्णता दिन नसकेर मन्त्रिपरिषद् विस्तार गर्न सरकार असक्षम भएकाे चर्चा चलिरहँदा सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलका नेताहरुसँग मन्त्रीपरिषद् विस्तारका लागि मन्त्रीको नाम मागेका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा आक्राेसित हुँदै मन्त्रीको लागि नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् ।
‘मन्त्रिपरिषद् छिट्टै विस्तार गर्नुपर्यो । मन्त्रीको नाम दिनुभयो भने छिट्टै गर्न सकिने कुरा प्रधानमन्त्रीले राख्नुभयो । अरु दलका नेताहरूले पनि मन्त्रिपरिषद् विस्तार छिट्टै गर्नुपर्नेमा एकमत राख्नुभयो,’ पौडेलले भनिन् ।
पार्टीमा छिट्टै छलफल गरेर नाम दिने सहमति समेत बैठकमा नेताहरूबीच भएको छ ।
संसद्मा अध्यादेश टेबुल गर्ने र गठबन्धनलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भएको सांसद पौडेलले जानकारी दिइन् ।
शुक्रबार बिहान सवा ९ बजेदेखि करीब १ घण्टा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी रहेका थिए ।
सत्तारुढ गठबन्धनको बैठक आज शुक्रबारै साँझ ६ बजे पुनः बस्ने पौडेलले बताएकी छन् ।
प्रतिकृया दिनुहोस्