कला र पत्रकारितामा दिइने पुलित्जर पुरस्कारको घोषणा

कला र पत्रकारितामा दिइने पुलित्जर पुरस्कारको घोषणा

काठमाडौं । यस बर्षको कला र पत्रकारिताको दुनियाँमा दिइने पुलित्जर पुरस्कार २०२५ को घोषणा गरिएको छ ।

अमेरिकी उपन्यासकार पर्सिभल एभरेस्टको उपन्यास  ‘जेम्स’ ले कथाको लागि पुलित्जर पुरस्कार जितेको छ। यो उपन्यास ‘द एडभेन्चर्स अफ हकलबेरी फिन’ को नयाँ र अनौठो पुनरावृत्ति हो, जुन एक दासको आँखा मार्फत भनिएको छ । त्यस्तै ब्रान्डेन ज्याकब्स–जेन्किन्सको नाटक ‘पर्पज’ ले पुलित्जर पुरस्कार जितेको छ । यो नाटक एक धनी काला परिवारको बारेमा हो जसले आफ्नै आन्तरिक द्वन्द्वहरूसँग जुधिरहेको छ ।

पत्रकारितामा चार उत्कृष्ट कामका लागि द न्यूयोर्क टाइम्स, तीन उत्कृष्ट कामका लागि द न्यू योर्कर र राष्ट्रपति ट्रम्पको हत्या प्रयासको समाचारको विस्तृत कभरेजका लागि द वाशिंगटन पोस्टलाई पुलित्जर पुरस्कार २०२५ को लागि छनोट गरिएको छ । लगातार दोस्रो वर्ष, प्रोपब्लिकाले पुलित्जर विशिष्ट सार्वजनिक सेवा पदक प्राप्त गरेको छ । गर्भवती महिलाहरूको बारेमा रिपोर्टिङ गरेकोमा समाचार एजेन्सी रोयटर्सका पत्रकार कविता सुराणा, लिज्जी प्रेसर, क्यासान्ड्रा जारामिलो र स्टेसी क्रानिट्जलाई सम्मानित गरिएको छ ।

पुलित्जरका अनुसार, द वाशिंगटन पोस्टले ट्रम्पको हत्या प्रयासको तत्काल र ज्ञानवर्धक ब्रेकिङ न्यूज कभरेज प्रदान गरेको थियो । त्यसैले यो पुरस्कारको लागि छनोट गरिएको हो । एन टेल्नेसलाई पुलित्जर पुरस्कार प्रदान गरियो । समाचार आउटलेटले उनका सम्पादकीय कार्टुनहरू प्रकाशित गर्न अस्वीकार गरेपछि उनले जनवरीमा द वाशिंगटन पोस्ट छोडेका थिए । पुलित्जरले उनको ‘निडरता’ को प्रशंसा गरेको छ ।

त्यस्तै आलोचनात्मक टिप्पणीका लागि द वाल स्ट्रिट जनरल, ब्लूमबर्ग सिटी ल्याब र उत्कृष्ट सम्पादकीयका लागि द हस्टन क्रोनिकलले पनि पुलित्जर पुरस्कार पाएका छन् ।पत्रकारिता क्षेत्रका १५ विधामा तथा पुस्तक, संगीत र रंगमञ्च जस्ता कला जगतका आठ विधामा पुलित्जर पुरस्कार पनि प्रदान गरिन्छ । सार्वजनिक सेवा क्षेत्रबाट छनोट हुने विजेतालाई स्वर्ण पदक प्रदान गरिनेछ । जबकि अन्य सबै विजेताहरूलाई १५ हजार डलर दिन्छ ।

लोकप्रिय