म पनि फुर्सद लिन्न, अरुलाई पनि निदाउन दिन्नँ : भेष बहादुर कार्की नेता, नेपाली कांग्रेस भक्तपुर

म पनि फुर्सद लिन्न, अरुलाई पनि निदाउन दिन्नँ : भेष बहादुर कार्की नेता, नेपाली कांग्रेस भक्तपुर

भक्तपुर कांग्रेस राजनीतिमा परिचित नाम र अनुहार हो, भेष बहादुर कार्की । २०३६ सालको जनमत संग्रह देखि निरन्तर कांग्रेसको राजनीतिमा समर्पित कार्की २०४२ सालको सत्याग्रहमा जेल बस्नुका साथै २०४६ सालको जनअन्दोलनमा पनि जेल पर्नुभएको थियो ।

प्रजातन्त्रको पुुर्नस्थापनाको लागि निरन्तर रुपमा लडेका कार्की आठौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र १० औं महाधिवेशनमा महासमिति सदस्य मात्र होइन, प्रतिबन्धित अवस्थामा २०४२ सालबाटै नेपाली कांग्रेस भक्तपुरको जिल्ला सदस्य भएर काम गर्नुका साथै हाल सूर्यविनायक नगरपालिका–७, तत्कालिन गुण्डु गाविसको अध्यक्ष समेत रहि सफतालपूर्वक जिम्मेवारी बहन गरिसक्नुभएको छ । २०६२/६३ को जनआन्दोलनमा समेत अग्रमोर्चामा खटिएका कार्की कांग्रेसको आगामी महाधिवेशनमा क्षेत्रीय सभापतिका लागि दाबी गर्नुभएको छ । उनै कार्कीसँग महाधिवेशनको विषयमा केन्द्रित भई गरिएको कुराकानी:

आसन्न महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

आउँदो महाधिवेशनमा मेरो उम्मेदवारी क्षेत्रीय अध्यक्षमा हुनेछ ।

क्षेत्रीय अध्यक्षमा तपाई नै हुनुपर्ने किन ?

म नै हुनुपर्ने भन्ने छैन, तर नेपाली कांग्रेस भक्तपुरलाई गतिशील बनाउन र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई भक्तपुरमा १ नम्वरको पार्टी बनाउन मैले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भक्तपुर क्षेत्र नं. २ का साथीहरुको सल्लाह र सुझावलाई स्वीकार गरेर मैले उक्त पदको दाबी गरेको हुँ । क्षेत्र नं. २ को कांग्रेसको शिथिलतालाई हटाउन नयाँ र पुराना पुस्तालाई एकै लोलीमा बोली मिलाउँदै नेपाली कांग्रेसको चार तारे झण्डा उँचो बनाउन फस्र्ट बनाउन नै मेरो मक्सद भएकाले उक्त मक्सद पूर्ति गर्ने मनसायले मेरो उम्मेदवारी भएको हो ।

क्षेत्रीय अध्यक्ष भएपछि तपाईको काम कस्तो हुनेछ, अर्थात पहिलेका अध्यक्षहरु र तपाईमा के भिन्नता पाइनेछ ?

म बसेको क्षेत्रीय कार्य समिति चलायमान हुनेछ । आउँदा निर्वाचनमा मेरो क्षेत्रका सबै स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई विजय बनाउनु नै म र मेरो टिमका साथीहरुको कर्तव्य हुनेछ । मेरो क्षेत्रमा नेपाली कांग्रेस पहिलो पर्टी नबनुन्न्जेल म पनि निदाउँदिन, साथीहरुलाई पनि सुत्न दिने छैन । क्षेत्रका विभिन्न निकायमा रहनुभएका साथीहरु सुभेच्छुक संघ, संस्था मात्र होइन पार्टीका क्रियाशिल सदस्य र कांग्रेसका मतदाताहरुको समेत रायलाई उच्च सम्मान गर्दै पार्टीलाई गोलबद्ध गरिनेछ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा फरक मत र फरक मन राखेकै आधारमा पूर्वाग्रहपूर्ण व्यवहार र विभेद हुनेछैन । साथै एक मात्र कार्यकाल पूर्ण रुपमा काम गर्ने बचन वद्धता व्यक्त गर्दछु ।

जिल्लामा पनि धेरै गुट र उपगुट रहेको छ, संस्थापन र पौडेल गुट छन् । त्यसमा तपाई कता हुनुहुन्छ ? त्यसमा पनि अहिले भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र उहाँका निकटतम प्रतिद्वन्द्वी अष्ट कवे, गणेश चक्रधर, बाबुराजा जोशी, विनोद कायष्ठ, महेश श्रेष्ठ, कविर राणा, जस्ता हस्तीहरुका गुटहरु क्रियाशिल छन्, त्यसमा तपाई कुन गुटमा पर्नुहुन्छ ? कुन नेताको साथ र सहयोग रहेको छ ?

म विशुद्ध नेपाली कांग्रेसको कार्यकर्ता हुँ । भक्तपुरमा गुट, उपगुट हाबी नहोला । भएपनि कम से कम मेरो क्षेत्रमा भने कुनै गुट उपगुटको छायाँ हामी पर्न दिदैनौँ । सबैको साथ र सहयोग लिएर कांग्रेसलाई सशक्त बनाउने प्रयास गरेको छु, म जहाँ भएपनि जुन पदमा रहेपनि वा नरहे पनि अब गुट र उपगुटलाई स्थायी रुपमा रहन दिने छैन ।

निर्वाचन हुँदा कस कसले साथ दिने अपेक्षा गर्नुभएको छ ?

कांग्रेस जिताउनुपर्छ भन्ने सबै थरी कार्यकर्ताहरुले मेरो उम्मेदवारीलाई स्वीकार गर्नुभएको छ । जिल्लाका सबै जसो नेता मतदाता साथीहरुले क्षेत्रीय सभापतिमा नेता मतदाता साथीहरुले क्षेत्रीय सभापतिमा मलाई देख्न चाहनुभएको छ । भेटेर फोनबाट र अन्य माध्यमबाट पनि खुलेर सहयोगको बचन दिनुभएको छ भने केही केही नेता साथीहरुले मतदाता क्षेत्रीय प्रतिनिधि साथीहरुले गोप्य मतदान गरेर विजयी बनाउने आश्वासन दिनुभएको छ । यसपाला क्षेत्रीय अध्यक्षमा मेरो नेतृत्व अपरिहार्य छ ।

प्रायः सबै क्षेत्रीय अध्यक्ष हुनेहरुको आकांक्षा त आउँदो निर्वाचनमा प्रतिनिधिसभाको टिकट लिने देखिन्छ, तपाई त झन् कांग्रेसबृत्तमा लामो यात्रा गर्ने मध्यमा पर्ने हुन्छ, आगामी प्रतिनिधिसभामा पहिले झैँ नै जालझेल गरेर टिकटमा आफ्नो नाम एक नम्वरमा सिफारिस गराएर उम्मेदवार बन्नको लागि त होइन, अध्यक्षको दाबी ?

जहिले म कांग्रेस भएँ, पार्टी माथि प्रतिबन्ध थियो । पार्टी प्रतिबन्ध फुकाउन बहुदल ल्याउन मैले पनि संघर्ष गरे, गणतन्त्र ल्याउन पनि मैले अथक परिश्रम गरेँ । जीवनका उर्वर दिनहरु कांग्रेस, संगठन र समाज सेवाको वित्यो । तपाईलाई विश्वस दिलाउँछु, आगामी निर्वाचनमा भक्तपुरको क्षेत्र नं. २ को टिकट दाबी गर्न होइन । कांग्रेस जिताउनु मेरो कर्तव्य हुनेछ । म प्रतिनिधिसभाको उम्मेदवार क्षेत्रीय अध्यक्ष रहँदा दाबी गर्ने छैन ।

अन्त्यमा केही भन्नु छ कि ?

सबै मिलेर भक्तपुरलाई फेरी कांग्रेसको बलियो गढ बनाउँ । जय नेपाल ।

लोकप्रिय