ढुण्डिराज शास्त्रीको निधन

ढुण्डिराज शास्त्रीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता ढुण्डिराज शास्त्रीको निधन भएको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा गत असार २ गते निधन भएको हो ।

नेपाली कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको स्मरण गर्दै संगठन निर्माण र सुदृढीकरणमा पुर्याएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, समाजवादी विचारको प्रवर्दन तथा पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पनि उल्लेख गरेको छ ।

यही ‘असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने’ कार्यक्रम रहेको छ ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए । स्व शास्त्री— जननायक बीपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत थिए ।

अर्घाखाँची जिल्लाको किमडाडामा विसं १९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री पटक–पटक पार्टीका केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी कार्यालयमा बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि नेता शास्त्रीको पार्थिव शरीर राखिएको थियो । पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

लोकप्रिय