चिनियाँ बोर्डरमा बाढीको सम्भावना

चिनियाँ बोर्डरमा बाढीको सम्भावना

काठमाडौं । नेपालसँग सीमाना जोडिएको क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको कारण चिनियाँ अधिकारीहरूले नेपाली अधिकारीहरूलाई दिएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले आफ्ना गाउँपालिका वासीहरुलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका ६ वटा पालिकाका बासिन्दाहरुलाई सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गरी सकेको छ ।

भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम बढी हुनसक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने सबै वासिन्दाहरूलाई सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले अनुरोध गर्नुभएको छ ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पालिका वासीहरुलाई सूचना जारी गरी भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्नसक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।

तातोपानी बोर्डर क्षेत्रमा खटिएका चिनियाँ सुरक्षाकर्मीले दिएको जानकारीको आधारमा सीमा क्षेत्रमा एकअर्कालाई सूचना आदान प्रदान गर्ने भन्ने हुन्छ । त्यसैको आधारमा चिनियाँ पक्षबाट अत्यधिक पानी पर्दैछ है भनेर सशस्त्र प्रहरीलाई र सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई सूचना दिने गर्दछ ।

लोकप्रिय