विपद् जोखिम रोक्न सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक

विपद् जोखिम रोक्न सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन । बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए ।

उनले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसाबले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताए । उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरूलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताए ।

यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिए । विपद् न्युनिकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीर रुपले लागिरहेको उनको भनाई रहेको छ ।

गत वर्षको असोजमा काठमाडौंमा उपत्यकामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकार गरे । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरूसँग समन्वय भइरहेको पनि बताए । काठमाडौं उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताए ।

लोकप्रिय