पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए बौद्ध शिक्षा
काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बौद्ध शिक्षा लिएका छन् । बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृतिमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत बौद्ध शिक्षा लिएका हुन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले मानव जीवनमा बौद्ध शिक्षाको अपरिहार्य आवश्यकता भएको जिकिर समेत गरेका छन् । भिक्षुको ५ औं वार्षिक पुण्यतिथिको अवसरमा विश्वशान्ति विहार मीन भवनमा कार्यपत्रको प्रस्तावना सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा बौद्ध विद्वानहरू क्रमशः मदन मानन्धर र डा. त्रिरत्न मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए । भिक्षु ज्ञानपूर्णिकले बौद्ध धर्ममा ६० वटा पुस्तक लेखेका थिए । उनी धर्मोदय महासभाका पूर्व अध्यक्ष पनि हुन् ।
थाइल्याण्डको महाचुलालोङकोर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट उनलाई मानार्थ विद्यावारिधि दिइएको थियो । उनी थेरवाद बौद्ध धर्मका सातौं संघनायक पनि हुनुहुन्थ्यो । गोष्ठीको अध्यक्षता थेरवाद बौद्ध एकेडेमीका अध्यक्ष निग्रोध महास्थवीरले गरेका थिए ।
कार्यक्रम सञ्चालन डा. रीना तुलाधरले गरेका थिए । महेन्द्ररत्न शाक्य र भिक्षु निग्रोध महास्थवीरले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भिक्षु अनागारिका थेरवाद बौद्ध एकेडेमीका प्राध्यापक र विद्यार्थीहरूले भाग लिएका थिए ।


प्रतिकृया दिनुहोस्