चितवनका विपन्न समुदायलाई निःशुल्क मिटरबक्स वितरण
काठमाडौं । नेपाल विद्युुत प्राधिकरण टाँडी वितरेण केन्द्रले पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युतको ‘मिटरबक्स’ वितरण गर्ने भएको छ ।
त्यहाँका समुदायलाई दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्ने तयारी भएको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न भएको हो ।
यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरीसकिएको छ । अन्यलाई क्रमशः वितरण गर्ने भएको छ ।
मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ । दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले रु एक करोड २० लाख खर्च गर्ने भएको छ । वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदाय रहेका छन् । मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा रु ३० तिर्नुपर्ने छ ।
रितपूर्वक प्राप्त निवेदनपश्चात् मिटरबक्स जडान गरिनेछ । यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स निःशुल्क वितरण गरी सकिएको छ ।


प्रतिकृया दिनुहोस्