प्रभु बैंकको अध्यक्षमा किशोरजगं कार्की

प्रभु बैंकको अध्यक्षमा किशोरजगं कार्की

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अध्यक्षमा किशोरजंग कार्की नियुक्ति गरीएको छ । बैंकको सञ्चालक समितिले इन्डिपन्डेन्ट डाइरेक्टरमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।

२०३९ सालदेखि सरकारी सेवामा काम गर्दै आइरहेका नवनियुक्त अध्यक्ष कार्की प्रभु बैंकमा १७ वैशाख २०८१ सञ्चालकको रूपमा काम गर्दै आइरहेका छन् । ३८ वर्ष सरकारी सेवामा काम गर्ने क्रममा उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सहसचिवको रूपमा काम गर्ने क्रममा २०७७ वैशाखबाट अनिवार्य अवकाश पाएका हुन् ।

कार्कीले लोकसेवा आयोग, निजामती (राष्ट्रिय) किताब खानाको महानिर्देशकका साथै अर्थ मन्त्रालयमा पनि सहसचिव भएर काम गरेका थिए । महानिर्देशकको रूपमा आन्तरिक राजस्व विभाग, महानिर्देशककै रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका साथै सहसचिव हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए । उनले सूचना तथा सञ्चार मन्त्रालयमा पनि काम गरेका थिए ।

आन्तरिक राजस्व विभाग, प्रमुख कर प्रशासक, आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं २, बबरमहल र प्रमुख भन्सार प्रशासकको रूपमा त्रिभूवन विमानस्थल भन्सार कार्यालयका साथै उपमहानिर्देशक भएर भन्सार विभागमा काम गरेको अनुभव छ ।

त्यसैगरी, नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, कार्यकारी समिति, कृषि अनुसन्धान कोषमा सञ्चालकको रूपमा पनि काम गरेका थिए । लेखामान बोर्डमा सदस्य भएका थिए ।

केन्द्रीय चलचित्र जाँच समिति, राष्ट्रिय समाचार समितिको महाप्रबन्धक छनौट तथा सिफारिस समिति, नेपाल टेलिभिजनको महाप्रबन्धक छनौट तथा सिफारिस समिति, रेडियो नेपालको महाप्रबन्धक छनौट तथा सिफारिस समिति र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष छनौट तथा सिफारिस समितिमा अध्यक्षको रूपमा काम गरेका थिए ।

साथै पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र त्यस्तो तस्करीजन्य कार्य पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संस्थागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन समितिमा रहेर काम गरेका थिए ।

इन्डिपेन्डेन्ट डाइरेक्टरमा नियुक्त भएका अर्यालसँग लामो समय बैकिङ क्षेत्रमा स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै कुमारी बैंकको सीईओको समेत भएर काम गरेको अनुभव अर्यालसँग छ ।

शंकरदेव क्याम्पसबाट एमबीए गरेका अर्याल कुमारी बैंकको सीईओको रूपमा सन् २०१६ देखि २०२२ सम्म काम गरेका थिए । त्यसै गरी सन् २०१४ देखि २०१५ सम्म कामु सीईओको रूपमा काम गरेका थिए । बैंकमा उनले चीफ मार्केटिङ अफिसर, कर्पोरेट तथा बैंकिङ विभागीय प्रमुखसमेत भएर काम गरेका थिए ।

पशुपति बहुमुखी क्याम्पसमा अध्यापनसँगै नेपाली सेनाको शिक्षा विङमा शिक्षकको रूपमा काम गरीसकेका छन् । अर्यालले अडिट फर्मसँगै एक दर्जभन्दा बढी विभिन्न तालिममा प्रशिक्षकको रूपमा काम गरीसकेका छन् ।

लोकप्रिय