दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’

दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’

काठमाडौं । जस्ट फ्युचर्स पहल (जेएफपीं)ले बागमती प्रदेशका लागि यही अगस्ट, २०२५ देखि १२ महिनासम्म सञ्चालन हुने फेलोसिपका लागि छानिएका प्रतिभाशाली युवा दलित महिला सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप (बहिन(वृत्तिंं) प्रदान गर्ने निर्णय गरेको छ। जसमा प्रतिभाशाली युवा दलित महिला हुन् ।

जसमा सरिना द्योला, मंजिता परियार, प्रमिला बिक, कंचन कटुवाल, राधिका रोका, मनिका विश्वकर्मा र संगिता मिजार रहेको जेएफपीका कार्यकारी निर्देशक सोना खटिकले बताइन् । ‘आफ्ना कथा आफै बुन्छौं’ (जिमिगु बाखं जिमिसं हे ग्वये) भन्ने मूल मर्म बोकेर सार्वजनिक आह्वानअनुसार आवेदन दिएका २०१ जनामध्ये सर्ट लिस्टमा परेका १६ बीच प्रतिस्पर्धाबाट छानिएका हुन् ।

बागमती प्रदेशमा स्थायी बसोबास गर्ने २० देखि ४० वर्षका दलित महिला, दलित यौनिक तथा लैंगिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रुपमा पहिचान गर्ने व्यक्ति तथा नेवाः दलित महिलालाई आवेदनका लागि आह्वान गरिएको थियो ।

दामल फेलो र जस्ट फ्युचर्स फेलो मधु महरा, पूर्वसांसद तथा दामल फेलो्फ्याकल्टी अन्जना विशंखे तथा त्रिभुवन विश्वविद्यालयसँग आबद्ध मानवशास्त्री डा.मुक्तसिंह लामाले लिएको अन्तर्वार्ताका आधारमा जेएफपीको संचालक समितिले उनीहरूलाई छनौट गरेको छ ।

सबैका लागि न्यायपूर्ण भविष्यहरूको सपना बोक्दै, दलित महिलाका अनुभव, अनुभूति, आकांक्षा र ज्ञानलाई केन्द्रमा राख्दै, समुदाय स्तरका भोगाइलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सिकाइसँग जोड्दै अगाडि जाने लक्ष्यलाई ध्यानमा राखेर फेलोसिपको नामकरण गरिएको खटिकले बताइन् ।

मधेश प्रदेशमा चलाइएको जस्ट फ्युचर्स फेलोसिप, राष्ट्रिय स्तरमा संचालन गरिएको जेएफपी फ्याकल्टी सेमिनार र ती दुवै फेलोसिपबाट छानिएर आएका फेलोबीच संचालनमा रहेको दामल फेलोसिपको प्रयोगका आधारमा नयाँ फेलोसिप थालनी गरिएको जेएफपीले बताएको छ।

जेएफपी दलित महिलाका मुद्दा र सामूहिक नेतृत्वलाई केन्द्रमा राखेर समालोचनात्मक दृष्टिकोणबाट ज्ञान उत्पादन र नयाँ भाष्य निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको संस्था हो र यसको जग भनेकै समुदाय स्तरमा संचालन भइरहेको जस्ट फ्युचर्स फेलोसिप हो ।

जेएफपी कोर टीमले समता फाउण्डेशनमार्फत् संचालन गरिएको ‘जस्ट फ्युचर्स इनिसियटिभ’को प्रारम्भिक स्तरदेखि नै अवधारणा बनाउने, कार्यक्रम र योजना लागू गर्ने तथा त्यसको व्यवस्थापनको अगुवाइ गर्ने विरासत बोकेको छ ।

यस्ता पहलबारे कोर्नेल युनिभर्सिटीमा पीएचडी गर्न लागेकी लेखक एवं जेएफपीकी संस्थापक अध्यक्ष सरिता परियारका अनुसार, ‘नेपालको बौद्धिक इतिहास जातीय शक्तिको इतिहास हो । दलित नारीवादी ज्ञानशास्त्रमा आधारित जस्ट फ्युचर्स पहल (जेएफपी) दलित महिलाका ज्ञान, क्षमता र एजेन्सीलाई केन्द्रमा राख्ने रूपान्तरणकारी सम्भावनाको जग हो ।

यो जात व्यवस्थाबाट उत्पन्न भएका निरन्तर अन्यायको केवल प्रतिक्रिया होइन, बरू दलित महिलालाई ज्ञान उत्पादक तथा आफ्नै भविष्यको शिल्पी बन्ने अवसर प्रदान गर्ने रणनीतिक हस्तक्षेप हो ।’

यस फेलोसिपमा पत्रकारिता र लेखनदेखि शिक्षण र राजनीतिक जीवनसम्ममा सक्रिय रहेका नयाँ फेलोहरूले पहिले आफ्ना व्यक्तिगत र सामाजिक जीवनका भोगाइबारे अध्ययन गर्नेछन् । जसमा जात, वर्ग, लैंगिकता र यौनिकताबारे बुनिएका भाष्य, ज्ञान र कल्पनाबारे समालोचनात्मक रूपले वैचारिक मन्थन गर्नेछन् ।

अन्तर–विषयको सह–सिकाइमा आधारित यस फेलोसिपमा सेमिनार र संवादमार्फत् गहन लेखनसँगै रचनात्मक कार्य गर्न प्रेरित गरिनेछ । यसमा फेलोहरूसँगै जेएफपीका फ्याकल्टीले पनि सिक्ने–सिकाउने काम गर्दै नयाँ–नयाँ सिर्जना गर्दै दलित महिलाको नजरबाट ज्ञान उत्पादनलाई गहन र व्यापक बनाउने लक्ष्य लिइएको छ ।

खटिकका अनुुसार, दलित महिलाहरूका माया, खुसी, भोगाइ, क्षमता एवं आकांक्षालाई केन्द्रमा राखेर सघन रुपले सञ्चालन गरिने यस फेलोसिपमा फ्याकल्टीका रुपमा देशभित्र र बाहिरका बौद्धिक र चिन्तकहरूको विशेष सहभागिता रहनेछ ।

काठमाडौं उपत्यकासँगै बागमती प्रदेशका अन्य जिल्लामा फैलिएका नेवाः दलितसँगै विभिन्न जातका युवा दलित महिलाको सहभागितामा यस फेलोसिपको सञ्चालनपछि आगामी दश वर्षभित्र पाँच सय जना फेलो उत्पादन गर्ने लक्ष्यका साथ यस फेलोसिपको घेरा अन्य प्रदेशमा पनि फराकिलो पार्ने प्रयास गरिने भएको छ ।

लोकप्रिय