साल्ट ट्रेडिङको चाडपर्व लक्षित सुपथमूल्य पसल ४० स्थानमा
काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आम उपभोक्तालाई राहत दिन देशभरि ४० स्थानमा सुपथ मूल्य बिक्री स्थल राख्ने भएको छ ।
काठमाडौं उपत्यकाका बासिन्दालाई सहज पहुँच सुनिश्चित गर्न कर्पोरेसनले कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन र बालाजु जस्ता मुख्य स्थानमा पसल खोल्ने छ ।
त्यसैगरी भक्तपुर सल्लाघारी र कौशलटार तथा काठमाडौं काँडाघारी र महाराजगञ्ज र ललितपुर इमाडोमा पनि सहुलियत पसल सञ्चालन हुनेछन् । निश्चित स्थानमा पुग्न नसक्ने उपभोक्तालाई लक्षित गर्दै थप सहजताका लागि तीन वटा घुम्ती पसल पनि सञ्चालनमा ल्याइने कर्पोरेसनले जनाएको छ ।
उपत्यका बाहिर पनि कर्पोरेसनले आफ्नो सेवा व्यापक विस्तार गरेको छ । पूर्वी नेपालको बिर्तामोड र विराटनगरदेखि मधेश प्रदेशका राजविराज, लहान, जनकपुर र वीरगञ्जसम्म सुपथ मूल्य पसल खोलिने छन् ।
बागमती प्रदेशका त्रिशूली, हेटौंडा, नारायणगढ र धुलिखेल तथा गण्डकी प्रदेशका पोखरा र बागलुङमा पनि उपभोक्ताले यो सुविधा पाउनेछन् । त्यसैगरी लुम्बिनी प्रदेशका भैरहवा, कृष्णनगर र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र बैतडीको पाटनमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।


प्रतिकृया दिनुहोस्