बालविकासमा कथाबाचनको महत्व
मथुरा थापा
म सानी हुँदा मेरी आमाले चुलोको छेउमा बसेर कथा सुनाईरहनु हुँदा मेरो चकचके बालापनले एकछिन बिश्राम लिने गर्दथ्यो । आमाले एउटा ठूलो सहरमा एउटी असाध्यै ज्ञानी र राम्री परि बस्थिन् भनी कथा सुरु गर्नु हुँदा मेरो कान ठाडो–ठाडो बनाएर म एकाग्र भएर सुनिरहन्थें । कथाको वेगसंगै बगिरहन्थें कथामा अर्को सहरबाट राजकुमार सेतो घोडा चढे्र परिको सहरमा परीलाई भेट्न आउँदा मेरो मनको वेगपनि त्यही हावा जस्तै उड्ने गथ्र्यो ।
राजकुमारले परिलाई सेतो घोडामा चढाई अर्को सहरमा लैजाँदा म पनि त्यही घोडामा चढेर उडेको अनुभव हुन्थ्यो । परी खुशी हुँदा म पनि आँैधी रमाउँथें । जब परी एक्ली हुन्थिन्, म पनि एक्लो भएको महशुस गर्थें । आमाले कथा भनिरहनु हुँदा म पनि कल्पनामा चुर्लम्म डुब्ने गर्दथें । अन्त्यमा परी अर्को सहरमा राजकुमारसंग खुशी भएर बस्न थाल्छिन र कथाको अन्त्य हुन्छ तर मलाई भने कथा अझै नसकिए पनि हुन्थ्यो जस्तो लाग्दथ्यो । अझै सुनिरहन मन लाग्थ्यो, अनि आमालाई फेरी बाघ, भालुको कथा सुनाउनुहोस् न भनेर भनिरहन्थे ।
मेरो बाल्यकालदेखिको सपना एउटा शिक्षिका बन्ने थियो । एस.एल.सी पास गरेपछि एउटा निजि विद्यालयमा पढाउन सुरु गरेकी थिएँ । आजभन्दा करिब २१ वर्ष पहिलेको कुरा हो, त्यो समयमा म यु.के.जी कक्षाकी शिक्षिका थिए । उपत्यकामा एकदिन अत्याधिक जाडो बढ्ेको थियो । मलाई पनि पढाउन त्यति जागर चलेको थिएन्, विद्यार्थीहरु पनि पढ्न, लेख्न त्यति मन गरिरहेका थिएनन् । मेरो विद्यार्थीलाई कसरी रमाईलो गराउने होला भनेर सोचिरहेको थिएँ ।
त्यही समयमा मलाई कथा सुनाउन मन लाग्यो । मैले भनेँ, ‘ल म अब तिमीहरुलाई कथा सुनाउँछु ।’ त्यति भन्नासाथ सबैजना रमाउँदै आज हामी कथा सुन्ने भनेर सबैजना चुप लागेर, ध्यान दिएर कथा सुन्न थाले । यु.के.जी कक्षाको Science मा हामीले पुतलीको जीवन चक्रको बारेमा पढाउने गथ्र्यांैै । त्यसैले मैले त्यसदिन पुतलीको बारेमा कथा सुनाएँ । मैले कथा सुनाईरहँदा, विद्यार्थीहरुको ध्यान मेरो मुखबाट निस्किएको प्रत्येक शब्दमा केन्द्रित थियो । कथा भनिरहँदा मैले जस्तो हाउभाउ प्रस्तुत गर्छु, त्यही अनुसार भाव उनीहरुको अनुहारमा देखिरहेको हुन्थेँ । मेरो विद्यार्थीहरुलाई मैले कथा सुनाईरहँदा, मेरो आमाले वाल्यकालमा सुनाउनु भएको परिको कथाको याद आएको थियो ।
मैले झुसिलकिराको कथा भनिरहँदा ‘झुसिलकिरा पुतली बन्ने क्रममा पातमा थुक्छ र कतै नदेखिएपछि चरा निरास हुन्छ’ भनिरहदा सबै विद्यार्थीको अनुहार मलिन हुन्थ्यो र यसरी लुकेर बसेको झुसिलकिरा एकदिन एक्कासी राम्री पुतली भएर निस्कन्छ भनिरहँदा सबै विद्यार्थीहरु खुसी हुन्थे र सबैको मुहार उज्यालो देखिन्थे । यसरी कथाको अन्त्य हुन्छ तर उनीहरु मिस फेरी अर्को पनि कथा सुनाउनुस् न भनिरहे । मैले उनीहरुलाई फेरी अर्कौ दिन सुनाउने बाँचाका साथ त्यसदिन कक्षाकोठाबाट बिदा भएँ ।
निलिमा नाम गरेकी एउटी विद्यार्थीले केही दिनपछि एउटा कपी दिईन त्यसमा पुतलीको जीवन चक्रको फोटोहरु क्रमैसंग मिलाएर टाँसेकी रहिछिन् र त्यस दिन मैले कथा सुनाएकै शैलीमा उनले मलाई कथा सुनाउन थालिन् । पुतलीको जीवन चक्रलाई कथाका माध्यमबाट असाध्यै राम्रो प्रस्तुत गरिन् । मैले त्यसदिन महसुस गरेकी थिएँ, पाठ पढाएर, घोकाएर, सिकाएका कुराहरु विद्यार्थीलाई एकछिन् पनि सम्झिन ग्राहो हुन्छ तर कथाको माध्यमबाट सिकाएका कुराहरु उनीहरुको दिमागमा ताजा हुनेछ, सम्झिने रहेछन् अनि बुझ्ने रहेछन् ।
हामी अभिभावकले कथाको माध्यमबाट बालबालिकाहरुलाई पढाई, प्रति आर्कषित गराउन सक्छौँ, सिधै किताब दिएर पढ्न लगाउन भन्दा कथाको किताब दिएर पढ्न सिप (Pre-Reading Skills) को विकास गराउन सक्छौैँ । रमाईला कथाका किताबहरु दिएर पढई प्रति मोह जगाउन सक्छौँ । विभिन्न अध्ययनले पनि प्रमाणित गरिसकेको छ कि जब साना उमेर देखि नै बालबालिकाहरु पढ्न रुचाँउदैछन, ठूलो हुँदै जादा पनि बालबालिकाहरुको पढाई प्रति सकारात्मक धारणाको विकास हुने गर्दछ जसले गर्दा उनीहरुको शैक्षिक नतिजा पनि राम्रो आउने गर्दछ ।
हामीले कथाको माध्यमबाट बालबालिकाहरुलाई विषयबस्तुको ज्ञान पनि समावेश गरेर सिकाउन सक्छौँ, बानी व्यवहोराका कुराहरु पनि सिकाउन सक्छौँ, कथा भनिरहँला प्रयोग हुने नयाँ शब्दहरु बाट बालबालिकाहरुको भाषाको विकास हुने गर्दछ । कथा भनिरहँदा प्रस्तुत गरिने हाउ भाउ, कथाको पात्रको प्रस्तुती अनुसार बालबालिकाहरु कहिले खुशी व्यक्त गर्दछन त कहिले दुःखी हुन्छन, दुःखी हुदा पनि आफुलाई समाल्न सिकिरहेको हुन्छन यही बालबालिकाहरुको भावनात्मक विकास भईरहेको हुन्छ । हामीले कथा भनिरहँदा बीच बीचमा प्रश्न पनि गर्नु पर्दछ र उनीहरुलाई एकछिन सोच्ने मौका पनि दिनु पर्दछ र उनीहरुले आफ्नो–आफ्नो तर्क शरण गर्दछन, यसो गर्दा बालबालिकाहरुको कल्पनाशिलता र सिर्जनशिलताको पनि विकास हुने गर्दछ । हामीले कथा भनी सकेपछि फेरी उनीहरुलाई पनि त्यही कथाका किताब दिएर ल अब म कथा सुन्छु अब हजुरको पालो भनी उनीहरुलाई पनि कथा भन्न प्रोत्साहन गर्न सक्छौँ । यसो गर्दा उनीहरुको पढ्ने सिप (Reading Skills) को विकास हुने गर्दछ ।
कथा सुन्ने भनेपछि बालबालिका खुसी हुन्छन् र रमाईरमाई सुनिरहेका हुन्छन् । घरमा होस् या विद्यालयमा बालबालिकालाई सिकाउनको लागि सहज र मौखिक माध्यम कथावाचन हो । विभिन्न ध्ययन अनुसन्धानले प्रमाणित गरेको छ कि कथा सुनेर सिकेका कुरालाई बालबालिकाले छिटो बुझछन्र लामो समयसम्म सम्झिन्छन् । अधिकांश बालबालिका ओछ्यानमा पल्टिन्छन् तर निदाउनका लागि कथा सुनाउनुपर्दछ ।
किन कथावाचन महत्वपूर्ण छ ?
– कथाका माध्यमबाट हामीले नानीहरुलाई नैतिक शिक्षा पनि सिकाउन सक्छौँ । जस्तै कथाको पात्रलाई उदाहरण बनाएर के गर्नु हुन्छ, के गर्नु हुँदैन, कस्तो व्यवहार राम्रो, कस्तो व्यवहार नराम्रो आदि कुरा सिकाउन सक्छौं ।
– कथा सुन्दा बालकालिकाको ध्यान, कथाको पात्र र कथामा अब के हुन्छ होला भन्ने कौतुहलले तान्छ । कथा सुन्दा, कल्पना शक्ति र एकाग्रताको विकास हुन्छ बालबालिकालाई सिक्नका लागि एकाग्रता र कल्पनाशील क्षमताको विकास हुनु अति आवश्यक छ । बालबालिकाले कथा सुन्दा धेरे धन्दा धेरै नयाँ शब्दहरु सिक्न सक्छन् । यसबाट बालबालिकामा भाषाको विकास हुन्छ ।
– बालबालिकालाई उनीहरुको उमेरअनुसारको कथाको किताबबाट पनि कथा सुनाउन सकिन्छ । यसो गर्दा उनीहरुमा किताब पढ्ने बानीको विकास हुन्छ ।
– कथा भनिसकेपछि उनीहरुलाई पुन त्यही कथा सुनाउन लगाउन सकिन्छ । यसबाट बालबालिकामा सम्झने क्षमताको विकास हुन्छ । यसो गर्दा कुनै पनि विषयबस्तुको बर्णन गर्ने र विषयबस्तु प्रस्तुत गर्ने क्षमताको विकास हुन्छ ।
– कथा सुनाउँदा बीचबीचमा भाव, विषयबस्तु अनुसार अब के हुन्छ होला भनेर पनि बालबालिकालाई प्रश्न गर्न सक्छौँ । यसबाट बालबालिकामा प्रश्नको उत्तर दिने क्षमताको विकास हुन्छ ।
– कथाको माध्यमबाट बालबालिकालाई गणितका अभ्यास सिकाउन सक्छौँ ।
ध्यान दिनुपर्ने कुरा
– कथा सुनाउँदा सकेसम्म चित्र देखाएर वा कथाको विषयबस्तुअनुसारको सामग्री प्रयोग गरेर सुनाउनुपर्दछ । यसरी सुनाउँदा बालबालिकाले कथाको विषयबस्तुलाई वास्तविक महसुस गर्छन् ।
– कथा सुरु गर्दा बालबालिलाई सुनुसुनु लाग्ने वा ध्यान आफुतिर तान्ने तरिका प्रयोग गर्नुपर्छ ।
– कथा सुनाउँदा कथालाई तीन भागमा विभाजन गर्नुपर्छ । सुरु, मध्य र अन्त्य । मध्य भागतिर अलिकति कौतुहलता गराउने क्लाइमेक्स सिर्जना गर्नुपर्दछ । अनि प्रश्न गनुपर्छ, अब के होला ?
– अभिभावकले कथा सुनाउँदा बालबालिकाको उमेरअनुसारको समयावधि छुट्याउनुपर्छ । धेरै साना नानीलाई कथा सुनाउँदा छोटो, मीठो कथा सुनाउनुपर्छ । धेरै साना नानीहरु लामो समय एकै ठाउँमा बस्न मन पराउँदैछनन् भन्ने कुरा ध्यान दिनुपर्छ ।
– कथाबाचन गर्दा अभिभावकले कथाको भाव, पात्रको चरित्र वा भूमिका अनुसार आवाजको तालमेल मिलाउनु पर्छ । कहिले सानो, कहिले ठुलो स्वरमा त कहिले विस्तारै, कहिले छिटो छिटो बोल्ने गर्नुपर्दछ । कथा सुनाउँदा आवाज बालबालिकालाई सुनुसुनु लाग्ने हुनुपर्दछ ।
– कथा सुनाउँदा पात्रको भूमिका र चरित्रअनुसार अनुहारको हाउभाउ प्रस्तुत गर्नुपर्छ ।
– कथाको अन्त्यमा कथाको पात्र खुसी भएको अर्थात सुखद अन्त्य हुनुपर्छ ।
(थापा हाम्रो बालापान नेपालको अध्यक्ष हुन्)


प्रतिकृया दिनुहोस्