कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार

कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार

 

ललितपुर । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठनका युवाहरुले राष्ट्रिय आवास कम्पनी बर्दघाट पश्चिम नवलपरासीका प्रमुख महेन्द्र थापालाई निस्कृष्ट व्यवहार गरेका छन् ।
संगठनको लुम्बिनी प्रदेश ब्युरो सम्बद्ध युवाहरुले कार्यकक्षमै रहेका थापालाई दुव्र्यवहार गर्नुका साथै मुलमूत्र दलिदिएका हुन् । उनले पुनर्वास परियोजनासम्बन्धी काममा अनियमितता, ढिलासुस्ती र घुस लिएकोले कारबाही गरिएको संगठनका प्रदेश प्रमुख मिलन थापाले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनलाई बस्ती सार्ने, जग्गा वितरण गर्ने, योजना पहिचानमा मनपरी, मिलेमतो तथा नागरिकले पाउनुपर्ने सेवा अवरुद्ध पारेकोजस्ता आरोप लगाइएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीमा निर्माणाधिन अवस्थामा रहेको ट्रमा सेन्टर निर्माणका लागि दिइएको जग्गा बेचबिखन गरेको समेत उनीमाथि आरोप छ ।
यद्यपि थापामाथि लागेको आरोपबारे भने कहीँ कतै पुष्टि भइरहेको छैन । कर्मचारीले अनियमितता र भ्रष्टाचार गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरकारी कार्यालयहरुमा उजुरी दिन सकिने व्यवस्था भएपनि कानुनी बाटो नअपनाई कर्मचारीमाथि दुव्र्यवहार गरेसँगै जनस्तरमा त्यसको व्यापक विरोध भइरहेको छ ।
राजनीतिक पार्टीको नाममा आफ्नो अभिष्ट पूरा हुन नसक्दा कर्मचारीमाथि गरिने गलत व्यवहारले कस्तो राजनीतिक संस्कार लागु गर्न खोजिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ । थापालाई दुव्र्यवहार गर्नेहरुमाथि किटानी जाहेरी दिईसकेकाले घटनामा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग कर्मचारीहरुले गरेका छन् ।

लोकप्रिय