रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
दैनिक समाज संवाददाता चरिकाेट– दाेलखा जिल्लाको रोल्वालिङ क्षेत्रका मतदाताहरूले उक्त क्षेत्रलाई “निषेधित क्षेत्र” घोषणा गरिएको निर्णय खारेज नगरेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बहिष्कार गरेका छन्।
स्थानीय बासिन्दाहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा राज्यको नीतिका कारण आफूहरू आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको आरोप लगाइएको छ।
वक्तव्यमा लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि छनोट गरी शासन प्रक्रियामा सहभागिता जनाउने अधिकारलाई महत्त्वपूर्ण मानिए पनि विगतका निर्वाचनहरू रोल्वालिङका लागि परिणामविहीन र निराशाजनक बनेको उल्लेख गरिएको छ।

स्थानीयका अनुसार रोल्वालिङ क्षेत्र कठिन भौगोलिक अवस्थाका कारण सडक सञ्जालबाट पूर्णतः वञ्चित छ भने आधारभूत स्वास्थ्य सेवा समेत उपलब्ध छैन।
आकस्मिक दुर्घटना वा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुँदा समयमै उद्धार र उपचार नपाएर पछिल्लो १० वर्षको अवधिमा १२ जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाउनुपरेको दाबी गरिएको छ।
स्थानीय बासिन्दाहरूले यस अवस्थाको प्रमुख कारण बिना पर्याप्त अध्ययन र ठोस आधार हचुवाको भरमा रोल्वालिङ क्षेत्रलाई “निषेधित क्षेत्र” घोषणा गरिएको निर्णय रहेको बताएका छन्।
उक्त निर्णयका कारण स्थानीय जनजीवन मात्र नभई यस क्षेत्रमा आउने पर्यटकहरू समेत अनावश्यक झन्झट र जटिलतामा पर्ने गरेको उनीहरूको भनाइ छ।
यस विषयमा विगतमा विभिन्न निर्वाचित प्रतिनिधि, मन्त्री तथा जिल्ला प्रशासन कार्यालयसमक्ष पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्य पक्षबाट कुनै ठोस पहल नभएको स्थानीयको गुनासो छ।
उनीहरूले राज्यले आफूहरूलाई आफ्नै देशका नागरिकका रूपमा सम्मानजनक व्यवहार नगरेको प्रश्न उठाएका छन्।
स्थानीयको माग अनुसार राज्यले रोल्वालिङ क्षेत्रलाई गरिएको “निषेधित क्षेत्र” घोषणा खारेज गरी नागरिकलाई आफ्नै भूमिमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने, सुरक्षित रूपमा जीवन रक्षा गर्न सक्ने तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ।
उक्त माग पूरा नभएसम्म रोल्वालिङ क्षेत्रका सम्पूर्ण मतदाताहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बहिष्कार गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख गरिएको छ।




प्रतिकृया दिनुहोस्