कवेलाई सभापति बनाए भक्तपुर कांग्रेसमय बन्नेछ

भेष बहादुर कार्की
नवनिर्वाचित सभापति, भक्तपुर क्षेत्र नं. २
नेपाली कांग्रेस
१४ औं अधिवेशनमा भक्तपुर क्षेत्र नं. २ मा सर्वाधिक मतले निर्वाचित क्षेत्रीय सभापति भेष बहादुर कार्की, संघर्षशील र अथक योद्धा हुनुहुन्छ । कार्की कांग्रेस संगठन निर्माणमा २०३६ सालदेखि निरन्तर रुपमा लागि परेका छन् । उनै कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश
भक्तपुर कांग्रेस गोलबद्ध बन्नेछ
क्षेत्रको निर्वाचन सकियो, मेरो क्षेत्रमा हाम्रै टिमको बहुमत छ । महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्य समितिमा समेत बहुमत छ । तर जिल्ला सभापतिको निर्वाचन भोली हुँदैछ । निर्वाचन जिल्ला सभापतिको निर्वाचनपछि नेताजीहरु र साथीहरुसँग सर सल्लाह गरेर अगाडि बढ्छौँ । हामी एक भएर जान्छौँ ।
जिल्ला सभापति छनौट
नेपाली कांग्रेस भक्तपुरको संगठन मजबुत बनाउन भक्तपुर कांग्रेसका कार्यकर्ताहरुलाई व्यापक रुपमा परिचालन गर्न सक्षम र योग्य ठानेर हाम्रा समूहले युवा नेत अष्ट कुमार कवेलाई जिल्ला सभापतिको उम्मेदवार बनाउने निधो गरेका छौँ । अनि मध्यपुर बैंकेटमा एक भव्य कार्यक्रमको आयोजना गरेर घोषणा सभा मार्फत सभापतिको उम्मेदवार बनाएका छौँ । हाम्रो समूहमा पूराना र क्रियाशिल कांग्रेसको जनमत छ । यसको नेतृत्वमा निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, पूर्व जिल्ला सभापति महेश श्रेष्ठ र अष्ट कवे हुनुहुन्छ । हामी उक्त समूहको इमान्दार पक्षधर, समर्थक र सहयोगी हौँ ।
सभापतिमा कवे नै किन ?
कवेजी साथीहरुको सर सल्लाह मान्ने, कांग्रेसलाई राम्रो नेतृत्वलाई स्वीकार गर्ने स्वभावका धनी व्यक्तित्व हुन् । साथै उनले सार्वजनिक कसम खाएका छन्–‘म कांग्रेस जिताउँछु, कुनै टिकटको लोभ गर्दिनँ ।’ जुन मेरो विचार र भावनासँग उहाँको विचार मिल्दो छ । लोभ लालच नराख्ने, भक्तपुर कांग्रेसको किल्ला बनाउने हाम्रो अभियान सफल बनाउन अष्ट कुमार कवेलाई जिल्ला सभापति बनाउन आवश्यक छ । कवेले टिकट विक्रि गर्दैनन्, जो पहिलाका स्थानीय र प्रदेश सदस्यको टिकट वितरणको नियति दोहोरिन दिँदैनन् । सबैलाई मिलाएर लैजाने उहाँमा उच्च क्षमता छ । त्यसकारण उनैलाई सभापति बनाउनु पर्छ भन्ने हाम्रो अभियान जारी छ ।
कवेको जित सुनिश्चित
भक्तपुर कांग्रेस सभापतिमा निश्चित रुपमा कवेले जित्छन् । किन भने भक्तपुर जिल्ला कांग्रेसको किल्ला बनाउनुपर्छ । चार वटै नगरपालिकालाई कांग्रेसको जित दिलाउनुपर्छ । भक्तपुर कांग्रेसहरु सचेत छन् । भर्खरै सम्पन्न महाधिवेशनमा संस्थापन पक्षमा प्रतिनिधिहरु अल्पमतमा छन् । भक्तपुरका कांग्रेसहरु केन्द्रीय नेतृत्वको विरुद्धमा उभिएका छन् । अब केन्द्र र जिल्ला पनि कांग्रेसलाई पराजित गर्ने नेतृत्वलाई पाखा लगाउन भक्तपुर कांग्रेसहरु जागरुक छन् ।
मेरो भनाई
म र मेरो समूहलाई अत्याधिक मत दिएर विजयी गराउनुहुने सबै प्रतिनिधि र वडा सभापति साथीहरु मलाई विश्वास गरेर उम्मेदवार बनाउने नेता साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भोली हुने जिल्ला सभापतिको निर्वाचनमा अष्ट कुमार कवेलाई मत दिएर विजय बनाउन विनम्र अनुरोध गर्दछु । कांग्रेस हराउने जिल्ला र केन्द्रलाई पाखा लगाउने अमूल्य मत र अमूल्य समय खेर नफालौं । हाम्रो एक मतले कांग्रेस पछि नपरोस् ।
प्रतिकृया दिनुहोस्