कुलमानको ‘उज्यालो नेपाल’ अभियानले गति लिँदै

कुलमानको ‘उज्यालो नेपाल’ अभियानले गति लिँदै

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफुले थालेको ‘उज्यालो नेपाल’ अभियानमा जोडिन युवाहरूलाई आह्वान गरेका छन् । काठमाडौँमा बिहीबार राष्ट्रिय युवा संसदद्वारा आयोजित घोषणा सभा तथा शपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन् ।
बहराइनबाट सुरु भएको ‘उज्यालो नेपाल अभियान’लाई अघि बढाउँदै घिसिङले राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत युवाहरूलाई समृद्ध नेपाल निर्माणको साझा यात्रामा जोडिन अनुरोध गरे । कार्यक्रममा उनले आफ्नो जीवन अनुभव, ऊर्जा क्षेत्रमा गरेका काम, र देशभित्र तथा विदेशमा रहेका नेपालीहरूको भूमिकालाई जोडेर समृद्धिको नयाँ दृष्टिकोण प्रस्तुत गरे ।
‘देश बनाउनु पर्छ, अबको पुस्ताले समृद्ध नेपाल निर्माण गर्न नेतृत्व लिनुपर्छ । देश बनाउन सकिन्छ, हामीबाट नै सुरु हुनुपर्छ । नेपालमा केही हुँदैन भन्ने निराशावादी भाष्य अब तोड्नुपर्छ,’ घिसिङले भने, ‘देश बनाउने नेतृत्व युवाहरू आफैंले लिनुपर्छ ।’ उनले युवालाई आत्मविश्वासी र जिम्मेवार बन्न प्रेरणा दिँदै नेतृत्वको मूल मन्त्र ‘लिसन, लर्न एण्ड लिड’ (सुन, सिक र नेतृत्व गर) मा जोड दिए ।
उनले भने, ‘अरूलाई नेतृत्व गर्नु अघि आफैलाई नेतृत्व गर्न सक्ने बन्नु पर्छ । देश बदल्न चाहनेहरूले आफै बदलिनु जरुरी छ । नेतृत्वले नै सम्पूर्ण प्रणाली र संस्थाहरूको दिशा परिवर्तन गर्न सक्छ ।’
गत चैत्र महिनामा कार्यकाल सकिन चार महिना मात्रै बाँकी रहंदा सरकारद्वारा बर्खास्त गरिएका घिसिङले अब आफु कुनै राजनीतिक नियुक्ति लिन इच्छुक नभएको बताए । देशमा राजनीतिक परिवर्तन धेरै भए पनि अपेक्षित विकास नेतृत्व अभाव रहेको उनले बताए । ‘राजनीतिक नेतृत्व सफल भए पनि विकास नेतृत्वमा भने ध्यान दिन सकिएन,’ उनले भने, ‘विकासको नेतृत्व गर्न व्यवस्थापन र कार्यान्वयनको ज्ञान अत्यन्त जरुरी हुन्छ ।’
घिसिङले हालै खाडी मुलुकहरूमा गरेका भ्रमण अनुभव बाँड्दै १५ लाखभन्दा बढी नेपाली युवा विदेशमा रहेको र उनीहरूको श्रमबाट नै देशको अर्थतन्त्र चलेको स्मरण गराए । ‘जीडीपीको एक चौथाई हिस्सा रेमिटेन्सबाट आउँछ, तर ती श्रमिकको श्रमको सम्मान भएन’ उनले गुनासो गरे ।
‘विदेशमा सिप, अनुभव र ज्ञान हासिल गरेका नेपालीहरूले देशमै फर्केर योगदान दिन चाहन्छन्, तर त्यसका लागि वातावरण बनाउनुपर्ने दायित्व अहिलेको पुस्ताले लिनुपर्छ,’ उनले बताए ।
नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला आफुले गरेको सुधारको चर्चा गर्दै घिसिङले भने, ‘लोडसेडिङ अन्त्य गरियो, बत्ती गाउँ–गाउँमा पु¥यायौं, घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्यायौं, तर विद्युतको उज्यालो मात्रै देशको समृद्धिको लागि पर्याप्त रहेनछ ।’
उनले थपे, ‘देशका अरू थुप्रै क्षेत्रमा अझै अँध्यारो छ, ती अँध्यारोलाई हटाएर मात्र समृद्धिको उज्यालो सम्भव छ ।’ घिसिङले ‘उज्यालो नेपाल’ अभियानलाई निराशालाई आशामा बदल्ने अभियानको रूपमा परिभाषित गरे ।

लोकप्रिय