एमालेमा बढ्दैछ अन्तरसंघर्ष
ज्ञानेन्द्र शाही
काठमाडौ । नेपालको राजनीतिक इतिहासमा एक समय शक्तिशाली र निर्णायक भूमिकामा रहेको नेकपा (एमाले) आजभोली आन्तरिक संघर्ष, दिशाविहीन नेतृत्व र अराजनीतिक हस्तक्षेपका कारण लगातार पछाडि धकेलिँदै गएको देखिन्छ । मुलुकको ठूलो कम्युनिस्ट पार्टी मानिने एमाले आज आफ्नो गौरवशाली इतिहासभन्दा टाढा, विवादको भुमरीमा फसेको छ ।
बढ्दो छ अन्तरसंघर्ष
एमालेभित्रको आन्तरिक विवाद कुनै नयाँ विषय होइन । तर पछिल्ला वर्षहरूमा गहिरिंदै गएको गुटबन्दी र अन्तरसंघर्ष पार्टी नेतृत्वकै कारण बढेको छ । पार्टीको विचारधारात्मक अस्पष्टता पार्टीपंक्तिमा कुँडिएको छ । युवापुस्ताले नेतृत्वमा स्थान नपाउनु, पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णय शैलीले पार्टीभित्र गम्भीर असन्तुष्टि र अन्तरसंघर्ष जन्माएको छ । यी विवादहरूले पार्टी संगठन कमजोर पार्नुका साथै जनमतमा समेत असर परेको छ ।
ओली नेतृत्वको असफलता
केपी शर्मा ओलीले दुई पटक प्रधानमन्त्री बनेर नेतृत्व गरेका छन् । तर दुबै कार्यकालमा उनले अपेक्षाअनुसार शासन गर्न सकेनन् । जनताको हितमा ठोस नीतिगत सुधार ल्याउन असफल हुनुका साथै संवैधानिक अङ्गहरूबीच टकराव सिर्जना गर्ने कार्यमा समेत उनी अग्रसर देखिए । ओलीको शैली विवादास्पद, आत्मकेन्द्रित र आलोचना सहन नसक्ने खालको रहेको देखिन्छ । पार्टी सञ्चालनमा पारदर्शिता र सहभागी निर्णय प्रक्रियाको अभावले उनको नेतृत्व क्षमता प्रति विश्वास घटाएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको रहस्यमय सक्रियता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जो एमालेकै पृष्ठभूमिबाट राष्ट्र प्रमुख बनेकी थिइन् । तर पछिल्लो समय राजनीतिक अवकाशपछि पनि सक्रिय राजनीतिक भूमिकामा उनी देखिएकी छिन् । ओली नेतृत्वको पक्षमा खुलेर अभिव्यक्ति दिने, पूर्वपदको मर्यादा नाघेर पार्टी राजनीतिमा हस्तक्षेप गर्ने जस्ता कामहरूले एमालेलाई थप आलोचनाको पात्र बनाएको छ । भण्डारीको राजनीतिक मोह एमालेलाई लाभभन्दा हानि नै गरिरहेको छ भन्ने आम धारणा बनिरहेको छ ।
कार्यकर्तामा निराशा बढ्दो
पार्टीभित्रको अस्थिरता र कमजोर नेतृत्वले गर्दा पार्टीका समर्पित कार्यकर्ता र आम समर्थक निराश छन् । स्थानीय, प्रदेश र संघीय निर्वाचनहरूमा लगातार घट्दो मत परिणामले पार्टीको गिरावट स्पष्ट देखाउँछ । नयाँ पुस्ताको राजनीतिक आकांक्षा सम्बोधन गर्न असफल भएको एमाले पुरानै ढर्रामा अडिएर अगाडि बढ्न खोज्दा अझै पछि पर्ने खतरा बढ्दो छ ।
एमाले एक ऐतिहासिक पार्टी हो । जसले नेपालको लोकतान्त्रिक संक्रमणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। तर अहिले पार्टीको गम्भीर समस्याहरू समाधान नगरी नयाँ दिशा दिन नसकेमा त्यो इतिहासमात्र बाँकी रहने सम्भावना बढ्दैछ । नेतृत्वमा विचारधारात्मक स्पष्टता, आन्तरिक लोकतन्त्रको पुनस्र्थापना र व्यक्तिगत मोहभन्दा माथि उठ्ने राजनीतिक संस्कार विकास नगरेसम्म एमालेको पुनरुत्थान सम्भव देखिँदैन ।


प्रतिकृया दिनुहोस्