प्रदेशको नीति प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्य अनिवार्य : मन्त्री थापा

प्रदेशको नीति प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्य अनिवार्य : मन्त्री थापा

 

ललितपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाको सहकार्यमा ‘स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धी छलफल कार्यक्रम’ सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश र स्थानीय तहबिच स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि र दिगो व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगर, मन्त्रालयका अधिकारी, महानगरका प्रमुख चिरिबाबु महर्जन लगायतका जनप्रतिनिधि, स्वास्थ्य शाखाका अधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रदेशस्तरको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहसँग सहकार्य अपरिहार्य रहेको बताए । उनले सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रूपमा उपलब्ध गराउने सरकारको प्राथमिकतामध्ये एक भएको उल्लेख गरे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य क्षेत्रमा प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई अझै संस्थागत बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले महानगरले समुदायमै स्वास्थ्य सेवा विस्तार गर्दै लैजान निरन्तर प्रयासरत रहेको जिकिर गरे ।
छलफलमा स्थानीय तहलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन, आधारभूत स्वास्थ्य पूर्वाधार निर्माण, औषधि आपूर्ति प्रणाली, मातृ–शिशु स्वास्थ्य, स्वास्थ्य बिमा कार्यक्रम, जनचेतनामूलक अभियान र डिजिटल स्वास्थ्य प्रविधिको प्रयोगबारे विस्तृत प्रस्तुति गरिएको थियो ।
छलफलमा सहभागीहरूले स्वास्थ्य सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका लागि समन्वयात्मक कार्यविधि, पारदर्शिता, जबाफदेहिता र समुदायको सक्रिय सहभागितामा जोड रहेको थियो । कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाले महानगरभित्र स्वास्थ्य क्षेत्रका आगामी कार्यक्रमहरूलाई सहकार्य गरेर अघि बढाउने सहमति भएको छ ।

लोकप्रिय