लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायद्वारा ‘तेस्रो धारको खोजी’
 
काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारी तीव्र पारेका छन्। समुदायका सदस्यहरूले मतदाता नामावलीमा नाम दर्ता अभियानलाई सशक्त बनाउँदै देशव्यापी घरदैलो अभियान चलाइरहेका छन्।
निर्वाचनलाई लक्षित गरी समुदायभित्र प्रतिनिधित्व, राजनीतिक दलहरूसँगको सम्बन्ध, र हालैको ुजेनजी आन्दोलनु को भविष्यबारे गम्भीर राजनीतिक तथा सङ्गठनात्मक छलफल चलेको छ।
निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न समयसीमा दिएको छ। सोही समयभित्र मतदान गर्ने उमेर पुगेका तर नाम दर्ता नगराएका व्यक्तिहरूलाई समेट्न समुदायले घरदैलो अभियान थालेको हो। विशेषगरी जेनजी आन्दोलनमा सहभागी युवाहरू अहिले एकजुट भएर चुनावी तयारीमा जुटेका छन्।
यतिबेला समुदायभित्र प्रतिनिधित्वलाई लिएर दुई धार देखिएको छ। केही सदस्यहरू विद्यमान राजनीतिक दलहरूबाटै प्रतिनिधित्व सुनिश्चित गर्न चाहन्छन् भने केहीले समुदायको छुट्टै राजनीतिक दल बनाउने प्रस्ताव अघि सारेका छन्।
जेनजी आन्दोलनको बलमा सरकार गठन भएको एक महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै समुदायका सदस्यहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार आन्दोलनमा प्रत्यक्ष सहभागी समुदायका सदस्यलाई निर्णय प्रक्रियामा प्रतिनिधित्व गराइएन, जसले गर्दा सीमान्तकृत समुदायको सहभागितामाथि प्रश्न उठेको छ।
गिभ आउटको सहयोगमा मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम लगायत संस्थाहरूको संयुक्त आयोजनामा भएको ‘राजनीतिक सहभागिता, हाम्रो अधिकार’ विषयक राष्ट्रिय परामर्श कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए।


 
                                 
                                 
                                 
प्रतिकृया दिनुहोस्