एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
नुवाकोट । नेकपा (एमाले)को महाधिवेशनमा नुवाकोटबाट केन्द्रीय सदस्य पदका लागि दुई जनाको उम्मेदवारी हुने भएको छ। मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने पार्टीको ११औँ महाधिवेशनमा नुवाकोट जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य केशव राज पाण्डे र जिल्ला अध्यक्ष बद्री मैनाालीले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। बागमती प्रदेशका पूर्वअध्यक्षसमेत रहेका पाण्डेले अध्यक्ष केपी शर्मा ओलीकै टिमबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका छन्। त्यस्तै, मैनाालीले पनि ओली समूहकै बागमती भूगोलतर्फका केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी मिलाएका छन्।
यसअघि नुवाकोटबाट केन्द्रीय सदस्य रहेकी बिन्दा ढुंगानाले यसपटक पनि ओली टिमबाट नै उम्मेदवारी दिन इच्छा व्यक्त गरेकी छन्। तर उनको सम्पत्ति शुद्धिकरणको बिषयलाई लिएर अख्तियार र सीआइबीले जुनसुकै समयमा अनुसन्धान प्रक्रियामा तानिन सक्ने जोखिम रहेको भन्दै यसपटक ढुंगानालाई पुनः केन्द्रीय सदस्य बनाउन नसकिने ओली निकट स्रोतले जनाएको छ।
अर्कोतर्फ ईश्वर पोखरेल समूहले अवसर दिए प्रतिनिधिसभाका पूर्वसांसद नारायण प्रसाद खतिवडाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने संकेत देखिन्छ। नुवाकोटबाटै केन्द्रीय सदस्य रहेकी उषा किरण तिमल्सिनाले पनि पोखरेल पक्षबाट पुनः उम्मेदवारी दिने सम्भावना छ। पाण्डे र मैनााली बाहेक अन्य नेताहरूले भने अहिलेसम्म औपचारिक रूपमा नेतृत्वमा आफ्नो इच्छा सार्वजनिक गरेका छैनन्।
नुवाकोटबाट १५ जना प्रतिनिधि, आयोजक ४ जना र विभाग तथा जनसंगठनतर्फबाट २ जना गरी कुल २१ जना महाधिवेशन प्रतिनिधि रहनेछन्। तीमध्ये २ जना प्रतिनिधि मनोनयनमार्फत चयन हुने सम्भावना छ। प्रतिनिधि संरचना हेर्दा नुवाकोटमा ओली समर्थक १६ जना र पोखरेल समर्थक ५ जना रहेको देखिन्छ।
प्रतिनिधि चयन प्रक्रियामा नुवाकोटमा व्यापक विवाद सुरु भएको छ। प्रतिनिधि बन्नका लागि ५ दर्जनभन्दा बढी कार्यकर्ताले उम्मेदवारी दिएका थिए। दर्ता शुल्कका नाममा प्रति उम्मेदवार १० हजार रुपैयाँ असुल गरिएको विषयले पार्टीभित्र नै असन्तुष्टि बढाएको थियो। जिल्ला पार्टी संयन्त्रका नाममा ५र७ जना मिलेर आफूनिकट व्यक्तिहरूलाई एकलौटी ढङ्गले प्रतिनिधि बनाएको आरोप पनि खुल्न थालेको छ।
यसैबीच, शीर्षस्थ नेताहरूले आफ्ना नजिकका व्यक्तिहरू, परिवारका सदस्य र सचिवालयका कर्मचारीलाई प्राथमिकताका साथ प्रतिनिधि बनाएको आरोप थप चर्किएको छ। केन्द्रीय सदस्य केशव राज पाण्डेले आफु निकट कोपिला भट्ट र स्वकीय सचिव विष्णु दाहाललाई प्रतिनिधि बनाएका छन्। त्यस्तै, बिन्दा ढुंगानाले आफ्नी बहिनी कमला पाण्डे र कार्यालय सचिव तथा भान्जा बसन्त न्यौपानेलाई प्रतिनिधि बनाएको बताइन्छ।
पार्टीभित्र देखिएका यी विवाद, भागबण्डा र व्यक्तिगत आस्थाका आधारमा गरिएको प्रतिनिधि छानोटका कारण नुवाकोटमा महाधिवेशन पूर्व नै तीव्र आन्तरिक असन्तुष्टि र आलोचना बढिरहेको देखिन्छ।


प्रतिकृया दिनुहोस्