जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् – प्रधानमन्त्री प्रचण्ड

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।

जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा (माओवादी)ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताएका छन् ।

जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा बताएका छन् ।

जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

माओवादी अध्यक्षले जनयुद्ध दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरेका छन् ।

लोकप्रिय