वीरगञ्ज भन्सारले उठायो १ खर्बभन्दा बढी राजश्व

वीरगञ्ज भन्सारले उठायो १ खर्बभन्दा बढी राजश्व

 

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
वीरगञ्ज भन्सारले गत आव ०७७÷७८ को पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको थियो । प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पुस महिनामा १७ अर्ब ६० करोड ९० लाख ८ हजार राजश्व संकलनको लक्ष्य प्राप्त भएको थियो । कार्यालयले लक्ष्यको ९७.७ प्रतिशत अर्थात १७ अर्ब २० करोड ९१ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट राजश्व संकलन गरेको छ । ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर उठाउने लक्ष्य लिएको भन्सारले मूल्य अभिवृद्धि कर वापत लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएका मालसामानबाट ६ महिनामा ३८ अर्ब ५७ करोड ७३ लाख १४ रुपैयाँ भन्सार महसुल संकलन हुँदा निर्यात भएका माल बस्तुबाट एकदमै कम राजश्व संकलन भएको छ । निर्यात भएका मालबस्तुबाट १ करोड ३२ लाख १९ हजार रुपैयाँ मात्र भन्सार महशुल उठेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो । कार्यालयले पुस मसान्तसम्म ६ करोड ९९ लाख ७६ हजार भसार महशुल निर्यात तर्फ संकलन गर्ने लक्ष्य राखेको थियो ।
अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करमात्रै ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ संकलन भएको भन्सारले बताएको छ । अग्रिम आयकर १४ करोड ६८ लाख ९० हजार रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख ६५ हजार, कृषि सुधार शुल्क ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब ३९ लाख ९५ हजार संकलन गरेको छ ।
भन्सार सम्बन्धी अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको भन्सारले सडक निर्माण तथा सम्भार दस्तुर वापत ३ अर्ब ९ करोड ५ लाख ६१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

लोकप्रिय