राजधानी केन्द्रीत हुँदै मिटरब्याज पीडित, थप पीडित काठमाडाैँ आउँदै

राजधानी केन्द्रीत हुँदै मिटरब्याज पीडित, थप पीडित काठमाडाैँ आउँदै

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लाबाट न्याय माग्दै मिटरब्याज पीडितहरु काठमाडौँमा संघर्ष गरीरहेका छन् । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं आएर न्याय मागिरहेको छैटौँ दिनमा थप १ हजार बढी पीडित काठमाडौं आउने भएका छन् । देशभरका १८ जिल्लाबाट आइतबार पीडितहरू काठमाडौं आउन लागेको मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज खतिवडाले जानकारी दिए ।

देशभर ३५ जिल्लाका पीडितहरू सम्पर्कमा आएकोमा तत्काल १८ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेको उनले बताए । सोमबार काठमाडौं पुग्ने उनीहरूको तयारी छ । २० चैतमा सिंहदरबार, २१ चैतमा बालुवाटार र २२ चैतमा संसद् भवनअगाडि मार्चमास गरेर धर्नाका कार्यक्रम सार्वजनिक गरिने बताए ।

नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध आन्दोलित छन् । सरकारले आफूहरुका माग सम्बोधन गर्न गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न आयोग गठन गरेपछि आन्दोलन फिर्ता लिने तयारीमा छन् ।

पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बस्ने गरेका छन् । गत असोज १ गते पीडित र सरकारबीच ५ बूँदे सम्झौतासहित सहमति भएको थियो । तर त्यो सहमति कार्यान्वयन नभएको र अहिले उही ५ बुँदे सम्झौतामा सहमति भएको संघर्ष समितिका संयोजक खतिवडाले बताए ।

 

लोकप्रिय