हिउँ खेल्न पर्यटक पातिहाल्नेमा
काठमाडौं । शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीयले बताएका छन् ।
बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेकोले पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको उनीहरुको भनाइ रहेको छ । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेका छन् । यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ ।
एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ ।


प्रतिकृया दिनुहोस्