माओ दिवसमा प्रचण्डको सन्देश : समाजवादी नेपालको यात्रामा एकताको आह्वान

माओ दिवसमा प्रचण्डको सन्देश : समाजवादी नेपालको यात्रामा एकताको आह्वान

प्रशान्त कार्की, पाैष ११, काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदलाई पन्छाउँदै सार्वभौम, आत्मनिर्भर र समाजवादी नेपालको लक्ष्यतर्फ एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत संयोजक दाहालले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र जनताको वास्तविक लोकतन्त्र स्थापनाका लागि माओले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप गहिरिँदै गएको र आमजनताको जीवन झन् संकटग्रस्त बन्दै गएको धारणा राखेका छन्। यस्तो परिस्थितिमा अध्यक्ष माओका विचार, संघर्ष र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आजको यथार्थसँग प्रत्यक्ष जोडिएको उनले बताएका छन्।

संयोजक दाहालले माओले प्रतिपादन गरेको बाटो इतिहासको सीमामा मात्र नअड्किएको उल्लेख गर्दै उत्पीडित वर्गको मुक्ति, राष्ट्रिय स्वाधीनताको रक्षा, आत्मनिर्भर अर्थतन्त्र निर्माण र जनताको स्वामित्वमा आधारित लोकतन्त्र स्थापनाका लागि त्यो मार्ग व्यवहारिक दिशानिर्देशका रूपमा अझै प्रभावकारी रहेको बताएका छन्।

सन्देशमा उनले सामन्तवाद अन्त्यका लागि गरिएको वैचारिक तथा व्यवहारिक संघर्षको एक चरण पूरा भइसकेको जनाउँदै त्यस प्रक्रियाले क्रान्तिकारी शक्तिहरूको वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रतिबद्धतालाई सुदृढ बनाएको उल्लेख गरेका छन्। अब मार्क्स, लेनिन, माओ र नेपाली क्रान्तिकारी अनुभवको संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिको रक्षा र समाजवादी क्रान्तिको यात्रामा दृढतापूर्वक अघि बढ्नु आजको प्रमुख कार्यभार रहेको उनको भनाइ छ।

माओ दिवसको अवसरमा संयोजक प्रचण्डले मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको निर्माणका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन पुनः आह्वान गरेका छन्।

लोकप्रिय