सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?

सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?

काठमाडौं, साउन १४, प्राविधिक सूचकहरूले सेयर बजार अझै बुलिस प्रवृत्तिलाई निरन्तरता दिने वा पुनः करेक्सनतर्फ मोडिने निर्णायक चरणमा रहेको संकेत गरिरहेका छन् ।
यस्तो अवस्थामा बजारमा सक्रिय लगानीकर्ताको चाँसो कुन क्षेत्रतर्फ केन्द्रित छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
गएको साता बिहीबारदेखि बुधबारसम्मको दैनिक कारोबारको संरचना हेर्दा सबभन्दा बढी कारोबार जलविद्युत समूहमा कारोवार भएको देखिन्छ ।
बजारमा सबभन्दा धेरै सूचीकृत कम्पनी यही समूहमा रहेकाले यसको कारोबार स्वाभाविक रूपमा बढी हुने भए पनि पछिल्ला दिनमा कुल कारोबारमा यसको हिस्सा तुलनात्मक रूपमा अझै बढेको देखिन्छ ।

तथ्याङ्क अनुसार गत बिहीबार कुल कारोबारको करिब ४९ प्रतिशत हिस्सा जलविद्युत समूहले ओगटेको थियो । यस सोमबार भने यो हिस्सा घटेर ३४ प्रतिशतमा सीमित रह्यो ।
त्यस दिन वाणिज्य बैंक समूहको कारोबार हिस्सा उल्लेख्य रूपमा बढ्यो । बैंकिङ समूहको हिस्सा सोमबार एकै दिन १६ प्रतिशतबाट २२ प्रतिशत पुगेको थियो ।
मंगलबार वित्त कम्पनी समूहमा पनि लगानीकर्ताको चासो बढेको देखियो । यस समूहको कारोबार हिस्सा मंगलबार ७ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको थियो ।
बुधबार भने पुनः जलविद्युत र विकास बैंक समूहतर्फ कारोबार केन्द्रित भएको देखिन्छ । जलविद्युत समूहको हिस्सा बुधबार ४३ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ । विकास बैंक समूहको हिस्सा पनि ५.६३ प्रतिशतबाट बढेर ९.११ प्रतिशत पुगेको छ ।
यसले पछिल्ला केही कारोबार दिनमा जलविद्युत, बैंकिङ र विकास बैंक समूहप्रति लगानीकर्ताको चासो बढ्दै गएको संकेत गर्छ ।
तर, कारोबारको हिस्सा मात्र हेरेर यी क्षेत्रमा नयाँ खरिद बढेको वा बिक्री दबाव रहेको निष्कर्ष निकाल्न सकिँदैन । त्यसका लागि एकुमुलेसन–डिस्ट्रिब्यूसन (एडी) अनुपात उपयोगी मानिन्छ ।
पछिल्ला पाँच कारोबार दिनमा जलविद्युत समूहको एडी मान २१ लाखले सकारात्मक छ । बुधबार भने ६ लाखले ऋणात्मक देखिएको छ ।
विकास बैंक समूहको पाँच कारोबार दिनको एडी मान ४ लाखले सकारात्मक छ । बुधबार ३ लाखले ऋणात्मक छ । त्यस्तै, बैंकिङ समूहको पाँच दिनको एडी मान ३२ लाखले सकारात्मक रहँदा बुधबार ८ लाखले ऋणात्मक देखिएको छ ।
यसले बुधबार केही नाफा बुकिङ बढेको संकेत गरे पनि पछिल्ला पाँच कारोबार दिनको समग्र प्रवाह अझै सकारात्मक रहेको देखाउँछ ।
अर्थात् यी क्षेत्रबाट ठूलो मात्रामा पुँजी बाहिरिएको संकेत अहिलेसम्म देखिएको छैन ।
बुधबार सबभन्दा बढी कारोबार हुने कम्पनीमध्ये जलविद्युत क्षेत्रकै दुई कम्पनी परेका छन् । यी दुवै कम्पनी मूल्य बढ्ने प्रमुख १० कम्पनीको सूचीमा समेत रहे भने ।

हिमालयन पावर पार्टनरको सेयर मूल्य ३.३५ प्रतिशतले बढेर ३९४ रुपैयाँ पुगेको छ । कम्पनीको २२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, खानी खोला हाइड्रोपावरको सेयर मूल्य ३.६२ प्रतिशतले बढेर २९५ रूपैयाँ पुगेको छ । यस कम्पनीको २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समग्रमा पछिल्ला केही कारोबार दिनको तथ्याङ्कले जलविद्युत समूहमा अझै सबभन्दा बढी चहलपहल रहेको देखाएको छ ।
साथै बैंकिङ, विकास बैंक र वित्त समूहमा पनि कारोबारको हिस्सा विस्तारै बढ्न थालेकाले लगानीकर्ताले विभिन्न क्षेत्रबीच अवसर खोज्दै पुँजी स्थानान्तरण गरिरहेको संकेत देखिएको छ ।
आगामी दिनमा यो प्रवृत्ति टिक्ने वा फेरि जलविद्युतमै केन्द्रित हुने भन्ने कुरा कम्पनीहरूको वित्तीय विवरण, बजारको मनोविज्ञान र समग्र बजार सूचक नेप्से दिशाले निर्धारण गर्ने देखिन्छ ।

लोकप्रिय