मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग

मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग

काठमाडौं साउन १४, राजधानीका अधिकांश सडक सुनसान बन्दै गएका थिए । तर, माइतीघर मण्डलामा रहेका पीडितहरू भने वर्षाका कारण निदाउन सकेका थिएनन् । उनीहरूको रात घरको न्यानो ओछ्यानमा होइन, खुला आकाशमुनि चिसो भुईँमा बितिरहेको छन् ।
देशका विभिन्न जिल्लाबाट न्यायको खोजीमा काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू बस्ने कुनै सुरक्षित ठाउँ नपाएपछि माइतीघरलाई नै आफ्नो अस्थायी बास बनाएका छन् । लगातार परिरहेको वर्षाबाट जोगिन कसैले प्लास्टिक ओढेका छन् भने कसैले लगाउने कपडालाई नै त्रिपाल बनाएर त्यसैमुनि दिनरात कटाइरहेका छन् ।
यही भिडबिच केही पीडित आमरण अनशनमा पनि छन् । उनीहरूको शरीर कमजोर बन्दै गएको छ । माइतीघरको सडक किनारमै केहि दिन देखि उनीहरूको दैनिक जीवन चलिरहेको छ ।

बिहानदेखि बेलुकासम्म आन्दोलन, साँझ भएपछि त्यहीँ खाना पकाउने, खाने र रात पर्नासाथ प्लास्टिकको ओतमा निदाउने प्रयास । वर्षा, चिसो र असुविधाबिच बितिरहेको उनीहरूको दैनिकी आन्दोलनको अर्को कठोर पाटो बनेको छ ।
आन्दोलनकारीहरू भन्छन्, राज्यले लामो समयदेखि आफ्ना पीडाप्रति बेवास्ता गरेकाले पटक–पटक राजधानी आएर आन्दोलन गर्नुपरेको हो । बस्ने ठाउँको व्यवस्था नहुँदा माइतीघरमै रात बिताउनु उनीहरूका लागि बाध्यता बनेको छ ।
रात जति गहिरिँदै जान्छ, माइतीघरको चिसो पनि त्यति नै बढ्छ । तर न्यायको आशामा राजधानी आएका यी पीडितहरूको प्रतीक्षा अझै सकिएको छैन ।

लोकप्रिय