अस्वाभाविक रुपमा बृद्धि भएको जलविद्युतको शेयरको मूल्य घट्ने

काठमाडौ, भदौ ४ । धितोपत्र अन्तर्गतको दोश्रोबजारमा सूचीकृत जलविद्युत कम्पनीको शेयर केही समय यता अस्वाभाविक तरिकाले वृद्धि भएर कारोवार भएपछि विद्युत् नियमन आयोगले यस सम्वन्धमा सर्वसाधारणलाई सचेत गराउँदै एक सूचना जारी गरेको छ । बिहिवार जारी आयोगको सूचनामा जानाजान रुपमा लगानीकर्ता झुक्याउने तथा लोभ्याउने प्रयोजनले गलत सूचना प्रवाह गर्ने प्रवद्र्धक एवं उत्पादक कम्पनी विरुद्ध आयोगले आवश्यक कारवाही अगाडि बढाउने कुरा उल्लेख गर्दै आयोगले उक्त सूचनामा चेतावनी दिएको हो ।यस सूचनाको प्रभावले अस्वाभाविक रुपमा बृद्धि भएको जलविद्युतको शेयर मूल्य घट्ने अनुमान गरिन थालिएको छ।

आयोगले लगानीकर्तालाई विद्युत्सम्बन्धी आयोजना एवं कम्पनीको प्राविधिक तथा वित्तीय अवस्थाको विश्लेषण गरी तथ्यपरक सूचनामा आधारित भएर उक्त शेयरले दिने वा दिनसक्ने प्रतिफलको बारेमा राम्रोसँग लेखाजोखा गरी लगानी गर्न अनुरोध गरेको छ ।

हरेक प्रकारका लगानीमा फरकफरक खालका जोखिम हुने भएकाले त्यसको ध्यानपूर्वक आंकलन गर्नु स्वयम् लगानीकर्ताको जिम्मेवारी भएको आयोगको ठहर छ । विद्युत् कम्पनीको शेयरमा लगानी गर्ने क्रममा वा शेयर खरिद गर्दा विशेष सावधानी अपनाउन आयोगले सबैलाई अनुरोध गरेको छ ।

आयोगले कम्पनीको नेटवर्थ चुक्तापुँजी भन्दा कम भए नभएको हेर्न भनेको छ । यस्तै, कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीको अनुपात कम भए नभएको विश्लेषण गर्न र चालु सम्पत्ति तथा चालु दायित्वको अनुपात धेरै भए नभएको विचार गर्न आग्रह गरेको छ ।

प्रति शेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । शेयर बजारले ‘बुलिस टे«ण्ड’ समातिरहेको बेला लगानीकर्ताको ठूलो चाप जलविद्युत् कम्पनीको शेयरमा नै परेको छ ।

एक वर्ष अघिसम्म प्रतिकित्ता रु ४९ सम्ममा कारोवार भएका जलविद्युत् कम्पनीको शेयरमा न्यूनतम ४०० प्रतिशतदेखि ९०० प्रतिशतसम्म वृद्धि भएको छ । जबकी गत वर्ष मात्रै दोस्रो बजारमा प्रतिकित्ता रु १०० मा सूचीकृत भएका ती कम्पनीका शेयर घटेर असाध्यै न्यून विन्दुमा पुगेका थिए । केही कम्पनीको शेयर मूल्यमा देखिएको वृद्धि स्वभाविक भए पनि अधिकांशको अस्वाभाविक देखिन्छ ।

माथिल्लो तामाकोशीको कूल १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत छ । बुधबार सो कम्पनीको शेयर प्रतिकित्ता रु ८०४ मा कारोवार भएको थियो । माथिल्लो तामाकोशीले मङ्गलबारदेखि नै ४५६ मेगावाट पूर्ण क्षमतामा बिजुली उत्पादन गरे पनि सो कम्पनीको शेयरमा लगानीकर्ता आर्कषित भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार हालसम्म कूल ४० कम्पनीको शेयर सूचीकृत भएका छन् । तीमध्ये सबैभन्दा ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको छ । त्यसपछि रसुवागढी, साञ्जेन, चिलिमे, बुटवल पावर कम्पनीको शेयर मात्रात्मक रुपमा बढी छ ।

एकातिर बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसक्ने अवस्थामा रहेका भन्दै धितोपत्र बजारमा कारोवार गरिरहेका जलविद्युत् कम्पनीले सरकारसँग हारगुहार गरिरहेका छन् भने अर्कोतर्फ शेयर बजारमा ती कम्पनीको शेयरमा नै राम्रै चमकधमक देखिन्छ ।

गतवर्ष यही समयमा प्रतिकित्ता रु। ८५ मा कारोवार भएको रिडी हाइड्रोपावर कम्पनीको शेयर बुधबार मात्रै प्रतिकित्ता रु.९५५ मा कारोवार भएको छ । यसरी एक्कासि मूल्यवृद्धि हुनुलाई धेरैले स्वभाविक मानेका छैनन् ।

आँखुखोला जलविद्युत् कम्पनीको अवस्था त्यस्तै थियो । उता खानीखोला हाइड्रोपावरको शेयर मूल्यसमेत रु ५० को हाराहारीमा झरेको थियो ।

लोकप्रिय