सिटामोल किन नेपाली बजारमा पाउन छाड्याे ?

सिटामोल किन नेपाली बजारमा पाउन छाड्याे ?

काठमाडौँ, भदौ ५ गते । कोभिड–१९ महामारी रोकथाम र मौसम परिबर्तनको क्रममा हुने स्वास्थ्य समस्या हुँदा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा पाउन छाडेको छ । यतिखेर कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला औषधि पसलहरुमा सिटामोलको अभाव देखिएको हो ।
कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो रोकथाम र निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भन्नुभयो, “पाँचवटा पसल चहारेपछि बल्ल बल्ल छैटौँ पसलमा सिटामोल एकपत्ता पाइयो ।” उहाँलेजस्तै सरोज उपरकोटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै आउनुपरेको बताउनुभयो ।

बजारमा सिटामोल पाइरहेको छैन भन्ने हल्ला आफूले पनि सुनेको तर त्यो सबै सत्य हुन नसक्ने दाबी औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले गर्नुभयो । उहाँले भन्नुभयो, “चरम अभाव नै भएको भन्दा पनि पहिलेभन्दा बजारमा सिटामोल कम भएको हुनसक्छ ।” कोभिड क्राइसिसका कारण उद्योगीहरूले कच्चा पदार्थ पाउन नसकेकाले निजी कम्पनीको उत्पादन कम भएको केसी सुनाउनुहुन्छ । विभागमा पछिल्लो समय सिटामोलको नयाँ मूल्य निर्धारण गर्नुपर्ने विषयमा दबाब र बहस दुवै चलिरहेको छ तर महामारीको समयमा सिटामोलको मूल्य बढाउँदा न्यायसङ्गत नहुने भएकाले त्यो कार्य तत्कालका लागि रोकिएको उहाँले जानकारी दिनुभयो ।

औषधि लिमिटेडले माग धान्न नसक्ने

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सिटामोलको पुनः उत्पादन थालेपछि सहज र सस्तो मूल्यमा आम नागरिकले सिटामोल पाउने अपेक्षा गरिएको थियो तर अधिक उत्पादनका लागि विविध समस्या रहँदा नेपालका सम्पूर्ण माग धान्न सक्ने गरी सिटामोल उत्पादन गर्न नसकिएको त्यहाँका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताउनुभयो । यस संस्थामा आएको तीन महिनापछि सिटामोलको पुनःउत्पादन सक्रिय पारिएको उहाँले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिले बल्ल तल्ल हप्ताको एक ब्याच उत्पादन हुन्थ्यो, अहिले दुई दिनको तीन ब्याच सिटामोल उत्पादन हुन्छ । एक ब्याचमा तीन लाख २० हजारवटा सिटामोल हुन्छ । त्यस्तै जीवनजल पनि दुई दिनको एक ब्याच उत्पादन हुँदै आएको छ । जीवनजल एक ब्याचमा १२ हजार थान रहन्छ ।” सिटामोल र जीवनजल सरकारले देशका हरेक कुनामा निःशुल्क पु¥याउनुपर्ने व्यवस्था गरेको छ । आफ्नै स्वामित्वको उद्योगले सबै आवश्यक उत्पादन गर्न नसक्दा निजी उद्योगसँग खरिद गरेर त्यो पूर्ति गरिँदै आएको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपाल औषधि लिमिटेडले सबै माग धान्ने गरी उत्पादन गर्न नयाँ मेसिनसहित कच्चा पदार्थ आउने बहुपक्षीय मार्ग अवलम्बन गर्नुपर्ने महाप्रबन्धक सफिउल्लाहले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “हाम्रो मेसिनको क्षमता कम छ, त्यसले अप्ठ्यारो पारेको छ, अर्को कुरा कच्चा पदार्थको मूल्य वर्तमान स्वास्थ्य सङ्कटकै अवस्थामा पनि चारगुणा बढेको छ ।”
उहाँका अनुसार प्रतिकिलो २८० रुपियाँ पर्ने कच्चा पदार्थको मूल्य यतिबेला एक हजार १५० रुपियाँ पुगेको छ । यस्तो अवस्थामा पनि उद्योगले सङ्कट टार्नका लागि भारतबाट थोरै थोरै मात्रामा भए पनि कच्चा पदार्थ निरन्तर खरिद गरेर उत्पादन गरिरहेको छ । वैकल्पिक कच्चा पदार्थका लागि चीनबाट पनि खरिद गर्न सकिन्छ तर टेन्डरलगायतका प्रक्रियामा दुई महिना लाग्ने गर्छ । त्यसैले पनि सहज नभएसम्मका लागि भारतबाटै ल्याउने क्रम जारी राखेको उहाँले स्पष्ट पार्नुभयो ।

 

लोकप्रिय