एमाले र जसपाका जनप्रतिनिधिलाई २२ गतेभित्र दल रोज्न पर्ने

एमाले र जसपाका जनप्रतिनिधिलाई २२ गतेभित्र दल रोज्न पर्ने

काठमाडौं,भदौ १३ । निर्वाचन आयोगले हालै बिभाजित नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई आफू आबद्ध हुने दल रोज्न समयसीमा तोकि दिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न आगामी भदौ २२ गतेसम्म समय सीमा निर्धारण गरिएको जानकारी दिनुभयो । दल रोज्न भदौ २२ गते कार्यालय समयभित्र कुनैपनि बेला आयोगमा सम्पर्क गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते प्रमाणिकरण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरि जारी गर्नु भएपछि नयाँ व्यवस्था अनुसार नेकपा एमाले र जसपा विभाजन भएको थियो ।
जसअनुसार प्रमुख प्रतिपक्ष एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रि समाजवादी दल बनेको छ । निर्वाचन आयोगले दुवै दललाई यही भदौ ९ गते मान्यता दिइ सकेका छ।

जारी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगको आइतबार बसेको बैठकले यही भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सो समयभित्र एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रवेश गर्न चाहेमा २२ गतेसम्म सनाखत गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखतका लागि जाँदा सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा–स्थानीय तहबाट जारी परिचयपत्र वा प्रमाणपत्र सँगै लैजानुपर्ने आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

लोकप्रिय