राष्ट्र बैंकले अर्बौँको पुराना झुत्रा नोटकाे ब्रिकेट घरघरको चुल्होमा बाल्न लगाउने

राष्ट्र बैंकले अर्बौँको पुराना झुत्रा नोटकाे ब्रिकेट घरघरको चुल्होमा बाल्न लगाउने

काठमाडौ , भदौ १६ । नेपाल राष्ट्र बैंकले लेनदेन कारोवारमा ल्याउन नमिल्ने भनिएको पुराना झुत्रो, मैलो तथा च्यातिएका नगद नोटलाई घर घरको चुल्हो जलाउन मिल्ने गरी ब्रिकेट बनाउने रिसाइकल प्रविधि भित्र्याएको छ ।

युरोपीयन मुलुक हलैण्डबाट संभवत दक्षिण एशियामा नै पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने गरी अन्य कच्चा पदार्थ मिश्रण गरी ब्रिकेट कोइला बनाउन शुरु भइसकेको छ । बैँकले तोकेबमोजिम चलनचल्तीमा ल्याउन नमिल्ने कागजी नोटलाई विगतमा धुलाउने जलाउने शिर्षकमा एकैठाउँमा जम्मा पारी जलाएर नष्ट गरिन्थ्यो ।

नेपाल राष्ट्र बैंकले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने यसअघिको प्रचलनलाई अन्त्य गर्दै पुर्नप्रयोग गर्न हुने गरी त्यसबाट खाना आदि पकाउने मिल्ने इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट कोइला बनाउन थालेको हो । नेपालका राष्ट्र बैंकका अनुसार हरेकबर्ष सरदर ४० देखि ४५ अर्ब रुपैयाँ बराबरका कागजी नोट नष्ट गर्दै आएको थियो ।

हल्यान्डको एक कम्पनीसँग गत सन् २०२० मा भएको सम्झौताअनुसार आठथान मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ । “आगामी असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ”, उनले भने ।

पहिलोपटक जलाइएका चार सय बन्डल नोटबाट करिब चार सय केजी खरानी निस्केको थियो । नोटको आकार अनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले बैंकले उपकरण खरिद गरेको जनाएको छ ।

प्रमुख नेपालका अनुसार उपकरणको पहिलो भागले नोटलाई टुक्र्याउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने उनले जानकारी दिए । बैंकले प्रतिवर्ष करिब ४०–४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।

 

लोकप्रिय