संखुवासभा सामुहिक हत्याकाण्डका आराेपी पत्ता लाग्याे, परिवारकै छिमेकी आफन्त परे पक्राउमा

काठमाडौँ .भदाै २६। केहि दिनअघि बहुचर्चित संखुवासभामा घटेकाे एकै परिवारका ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । संखुवासभाकाे मादीमा भएकाे उक्त हत्यामा संलग्न रहेकाे आरोपमा शनिबार बिहान मृतक परिवारका छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
६ जनाको सामुहिक हत्याका आराेपमा पक्राउ परेका युवक मृतकका आफ्नै भतिजो नाता पर्ने पनि खुल्न आएकाे छ । आउने आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक समस्या रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ । पारिवारिक आपसी पुरानाे रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको प्राथमिक अनुसन्धानमा देखिएको छ ।
लोकबहादुरको घर घटना भएको ठाउँबाट मात्र १ सय ५० मिटर जतिको दूरीमा पर्छ । प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्न एसपी भीम दाहालले बताए । “घटनाको प्रकृति र अध्ययनले आरोपीले भनेका कुराहरुलाई पनि पुष्टि गर्छ,” एसपी दाहालले इकान्तिपुरलाई भने,”आरोपीले हत्या गरेको शत प्रतिशत पुष्टि हुन्छ । हत्याको विविध पक्ष र कारणबारे आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी गराउँछौं ।”
गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
प्रतिकृया दिनुहोस्