साल्ट ट्रेडिङको ५९ औं वार्षिकोत्सव सम्पन्न : विभिन्न सम्मान र पुरस्कारको घोषणा
काठमाडौ । विभिन्न कार्यक्रम गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५९औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । आफ्नो व्यावसायिक उत्तरदायित्व पूरा गर्दै विभिन्न सामाजिक उत्तरदायित्वहरु समेत निर्वाह गर्दै आइरहेको कर्पोरेशनले हरेक वार्षिकोत्सवमा समाजमा योगदान गर्नेहरुलाई सम्मान र पुरस्कारको समेत व्यवस्था गर्दै आइरहेको छ ।
कर्पोरेशनले ५९ औं वार्षिकोत्वसको अवसरमा पनि बालबालिकाको संरक्षणमा सक्रिय भएका संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल सरकारको नीति–निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताउनुभयो । कर्पोरेसनले सेवा र कार्यक्षेत्र विस्तार गर्दै उपभोक्ताको घरदैलोमा सेवा पु¥याउन सफल भएको उहाँको भनाइ थियो । सरकारले दिएका सबै प्रकारका जिम्मेवारी पूरा गरेको उहाँको जिकिर रहेको थियो ।
कर्पोरेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ–संस्था तथा व्यक्तिहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कमचारीलाई हेमबहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गर्दै आइरहेको छ।
संस्थाकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड–१९ को त्रास कम भए पनि खुला वातावरण समारोह गर्नु उपयुक्त नभएकाले सामान्य हिसाबले वार्षिकोत्सव मनाएको जानकारी गराउनुभयो । कर्पोरेसनले आफ्नो उद्देश्य एवं प्रतिबद्धताअनुसार कोभिड–१९ महामारीकै बीचमा पनि उपभोक्तालाई सुपथ एवं सहज रूपमा गुणस्तरीय उपभोग्य वस्नु उपलब्ध गराइरहेको उहाँको भनाइ थियो । कोभिड–१९ कै कारण अघिल्लो वर्ष वितरण गर्नुपर्ने पुरस्कार तथा सम्मान पनि यो वर्ष प्रदान गरिएको जानकारी गराउनुभयो ।
यसबीच, कर्पोरेसनले ‘बालहितकारी पुरस्कार–२०७७’ ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको हाम्रो घर हेरौँ र ‘बालहितकारी पुरस्कार–२०७८’ ललितपुर धापाखेलको नवकिरण अनाथ–असहाय बालउत्थान समाजलाई प्रदान गरेको छ । पुरस्कार राशि ताम्रपत्रसहित ७५ हजार रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै, ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७७’ अधिकृतस्तरमा जुग्नु भद्रचन, ननअधिकृतस्तरमा सुजन महर्जन र स्तरविहीनमा बमबहादुर बस्नेत तथा ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा सम्झना श्रेष्ठ, ननअधिकृतस्तरमा निर्मल तामाङ र स्तरविहीनमा कलप्रसाद रिजलालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।
‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा प्रज्वलमान प्रधान, सहायकस्तरमा चन्द्रदत्त ढकाल र स्तरविहीनमा हरिरमा रोक्कालाई प्रतिव्यक्ति नगद ३५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको कर्पोरेसनले जनाएको छ । त्यस्तै, कर्मचारीका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको कर्पोरेसनले जनाएको छ ।
प्रतिकृया दिनुहोस्