प्रेस विज्ञप्ती मार्फत हार गुहार माग्दै श्री लालीगुराँस सहकारी

प्रेस विज्ञप्ती मार्फत हार गुहार माग्दै श्री लालीगुराँस सहकारी

काठमाडौँ, १४ असोज । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफू गम्भीर समस्यामा परेको भन्दै सहयाेगकाे याचना गर्दै  एक प्रेस विज्ञप्ती जारी गरेको छ । नगर विकासको नाममा ललितपुर महानगरपालिकाले विकास निर्माणको सामान्य मापदण्ड समेत पालना नगरी यस संस्थाको कार्यलय नै बन्द हुनेगरी  सार्बजनिक पाटी निर्माणको काम अघि बढाइएकोले उक्त सहकारी  अत्यन्तै समस्यामा परेको विज्ञप्तीमा उल्लेख गरेकाे छ । सहकारीले यस श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी गम्भीर समस्यामा परेकोले सम्पूर्ण शेयरसदस्य तथा शुभचिन्तकहरुमा साथ, सहयोगको अपिल विज्ञप्ती मार्फत गरिएकाे छ ।

विज्ञप्तीमा ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले नगर विकास योजना अन्तर्गत यस संस्थालाई पूर्ण रुपले असर पर्ने गरी पाटी निर्माण गर्न लागेको जनाइएको छ । पाटी निर्माण फुटपाथ र सडक मापदण्ड विपरीत र नक्सा समेत पास नगराई सार्बजनिक बाटो तथा लालीगुराँस बहुउद्देश्यीय सहकारी सस्थामा आउजाउ नै बन्द हुने गरी गर्न निर्माण गर्न लागिएकोले यस संस्थाको गम्भीर ध्यानाकर्षण भएकाे जनाइएको छ ।

नगर विकासको नाममा, नियम कानुनको समेत उल्लङ्घन गरी, संस्थाको करोडौँ मूल्य पर्ने भवन र २२ हजार भन्दा बढी सदस्य रहेको यस संस्थाको भविष्य धरापमा पार्ने काम भएको हुँदा ती हजारौँ लगानीकार्ताहरूको लगानी रहेको संस्था संरक्षणको लागि सम्पूर्ण सरोकारवाला व्यक्तिहरू फेरि एकचोटी एकजुट भई यस संस्था र संस्थासँग आबद्ध सदस्यहरूको लगानी संरक्षणको लागि लाग्न विज्ञप्तीमार्फत संस्थाले अपिल गरेको छ ।

विज्ञप्तीको पूर्ण पाठ जस्ताकाे तस्तै 

यस संस्थाको मुख्य कार्यालय ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोकको कित्ता नं. ४५६ र ४५७ सँग जोडिएको नेपाल सरकारको नाममा दर्ता रहेको किता नं. ३२७ क्षेत्रफल ०–१–०–१ भएको जग्गामा हाल आएर ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक नगर विकास योजना अन्तर्गत उक्त जग्गामा पाटी बनाउनको लागि रु. ३०,००,०००/– (अक्षेरुपी तीस लाख रुपैया) बजेट व्यवस्था गरी समय् फल्चा पाटी निर्माण कार्य सुरुवात गरेको हुँदा, नेपाल सरकारको विभिन्न निकायले सरकारी जग्गामा पाटी निर्माण नगर्नु भनी गरेको निर्णय, निर्देशन तथा पत्राचारहरु र मिति २०७८/०४/१७ गते सर्वोच्च अदालत, मिति २०७८/०५/०२ गते ललितपुर जिल्ला अदालत तथा मिति २०७८/०५/२९ गते उच्च अदालत पाटनको आदेश बमोजिम सडक मापदण्ड विपरित नहुने गरी मात्र निर्माण कार्य गर्न सक्ने भनिएकोमा (हाल उक्त मुद्दाहरु विचाराधीनमा रहेको), हाल ललितपुर महानगर पालिकाले फुटपाथ र सडक मापदण्ड विपरीत, नक्सा पास नगराई सार्वजनिक बाटो बन्द हुने गरी मिति २०७८/०५/२४ गतेबाट निर्माण कार्य सुरुवात गरेकोमा उक्त कार्य प्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाण्डौँ उपत्यका भित्रका नगरपालिका र नगरोन्मुख गा.वि.स.हरुमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ मा ललितपुर महानगरपालिकाको कुपण्डोल–जावलाखेलको शाखा सडकमा मूल सडक केन्द्रको ११/११ मिटर भित्र कुनै पनि स्थायी खालको निर्माण कार्य गर्न नपाईने भनिएको र साविक देखिको सर्भे नापी नक्सामा कुनै पाटी समेत नभएको अवस्थामा हाल आएर सर्वोच्च, उच्च र जिल्ला अदालतको आदेश विपरित ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले ललितपुर पुल्चोकका केही व्यक्तिहरुलाई आफ्नो प्रभावमा पारी सम्पदा, पुरातत्व र संस्कृतिको नाममा नकरात्मक सूचना प्रवाह गरी कानून र नियम विपरित जबरजस्ती पाटी निर्माण कार्य सुरुवात गरेको र यस संस्थाको मुख्य कार्यालयको प्रवेश द्वार दक्षिण तर्फ भनी गलत प्रचार गरी बिना जानकारी मिति २०७८/०६/११ गते जस्ताको बार लगाई संस्था बन्द गर्ने दुस्प्रयास समेत गरेको व्यहोरा समेत जानकारी गराईन्छ ।

उक्त कार्यको विरुद्ध संस्थाले विभिन्न मितिमा सर्वोच्च अदालत, उच्च अदालत पाटन र ललितपुर जिल्ला अदालतमा विविध मुद्दाहरु दायर गरेको र उक्त मुद्दाहरुको अन्तिम फैसला हुन बाँकी रहेकोमा ललितपुर महानगरपालिका र पाटी (समय फल्चा) पुनः निर्माण समितिले अदालतको आदेश विपरित बल प्रयोग गरी निर्माण कार्य सुरुवात गरेकोले २२ हजार भन्दा बढी सदस्य रहेको यस संस्थाको करोडौँ मुल्य पर्ने भवनको मुल प्रवेशद्वार पूर्ण रुपमा बन्द भई संस्थाको वित्तिय कारोबारमा गम्भीर असर पर्ने भएको हुँदा, सम्पूर्ण शेयरसदस्य तथा शुभचिन्तकहरुको विगतमा झैँ साथ, सहयोग तथा विश्वासको सदैव अपेक्षा गरेका छौँ । साथै संस्थाको सम्पूर्ण कारोबार यथास्थीतिमा सुचारु भै रहेको व्यहोरा समेत जानकारी गराउँदछौँ ।

हाल संस्था विरुद्ध आर्थिक राष्ट्रिय दैनिक र दियो पोष्ट नामक मिडियाहरु लगायत संस्थाबाट कर्जा लिई नतिरी कालो सूचीमा रहेका केही ऋणीहरुले यस संस्था र संस्थाका प्रमुख कार्यकारी अधिकृतको विषयमा भ्रामक र कपोकल्पित सूचनाहरु तयार तथा प्रचार प्रसार गर्दै आईरहेको जानकारी प्राप्त भएको हुँदा, सम्पूर्ण शेयरसदस्य तथा शुभचिन्तकहरुलाई उक्त नकरात्मक सूचनाहरुको भ्रममा नपर्नुहुन समेत अनुरोध गर्दछौँ ।

अमर दास श्रेष्ठ
अध्यक्ष
संचालक समिति

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था

प्रकाशित मिति २०७८/०६, १२ गते

लोकप्रिय