निकाे भएतापनि कोरोना सङ्क्रमितले मुटुको इसीजी गराउनु पर्छ !!

निकाे भएतापनि कोरोना सङ्क्रमितले मुटुको इसीजी गराउनु पर्छ !!
काठमाडौँ । देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बिरामी भएर ठिक  भएका व्यक्तिहरूमा मुटुको धड्कन गडबडी हुने गरेको पाइएको छ । यस सम्बन्धमा मुटु रोग विशेषज्ञका भनाइ रहेकाे छ कि मुटुको चालमा गडबडी भएको समस्या लिएर कोरोनाका सक्रिय सङ्क्रमित र सङ्क्रमण निको भएका व्यक्तिहरू हिजाेआज अस्पताल धाउने गरेका छन् ।केही समय यता विभिन्न अस्पतालमा मुटुकाे समस्या भएर उपचारका लागि आउने बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । अस्पतालमा आउने बिरामीहरूमा कोरोनरी अर्टरी डिजिजका बिरामीहरू धेरै छन् । अस्पतालमा उपचारका लागि आउने मध्ये करिब ४० प्रतिशतमा कोरोनरी अर्टरी डिजिज अर्थात् कोरोनरी धमनी रोग देखा परेको छ ।

मुटुका नलीहरू ब्लक हुने र कालान्तरमा हृदयाघात (हर्ट्अयाक) हुने मुटुका रोगीहरू बढेको पाइएको हो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार कोरोना सङ्क्रमण भएकै समयमा केहीमा मुटुको नली ब्लक भएर हृदयाघात भएको पनि पाइएको छ । केहीमा मुटुको धड्कन छिटो छिटो हुने देखिएको छ भने केहीमा ई सिजी गरेर हेर्दा मुटुको धड्कनमा भेन्टिकुलर एक्टोफिक ड्रिम्याटर कन्ट्रे्याक्सन देखिएको छ । कतिपयमा मुटु साइनोसिस क्योकार्डिया हुने देखिएको छ ।

सङ्क्रमण भएका व्यक्तिलाई हृदयाघातको सम्भावना हुने गर्छ । डा. भट्टराईका अनुसार सङ्क्रमणकै अवस्थामा पनि हृदयाघात हुने सम्भावना हुन्छ । गम्भीर बिरामीमा यो सम्भावना रहने उनले बताए । सङ्क्रमण निको भएपछि पनि हृदयाघातको सम्भावना हुन्छ । कोरोनाका गम्भीर बिरामीमा मुटुको मास्सपेसी कमजोर हुने र नलीहरू ब्लक हुने भएकाले निको भएपछि पनि हृदयाघातको सम्भावना रहन्छ ।

अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमण भएकाहरूमा सास बढ्ने, स्वाँ स्वाँ हुने, उकालो हिँड्दा गह्रौँ महसुस हुने, मुटुको धड्कन बढ्ने गरेको पाइएको छ । कोरोना सङ्क्रमणको डर र सङ्क्रमण भए निको हुँदैन कि भन्ने त्रासले मानिसमा तनाव पैदा गर्ने र यसको असर मुटुमा देखिने चिकित्सक बताउँछन् । मुटुमा समस्या आउनुमा स्ट्रेस (तनाव) पनि एउटा कारण हो । तनावले शरीरमा विभिन्न किसिमका हार्मोन उत्पन्न हुन्छन् । शरीरमा विकास भएका हार्मोनको सीधा असर मुटुमा पर्छ ।

महामारीले सामान्य जीवनशैली बिताइ रहेका मानिसको रोजीरोटी खोसिनु, आफूले सोचअनुसारको जीवनशैली नहुनु, लकडाउनका कारण बाहिर हिँडडुल गर्न नपाउनु पनि तनाव पैदा गर्ने कारण बनेका छन् । निन्द्रा नलाग्ने, वेचन हुने, डराउने जस्ता समस्या आउन सक्छन् । मुटुको धड्कन बढ्ने, स्वाँ–स्वाँ हुने, आत्तिने जस्ता समस्या देखिन थाल्छन् । डा. भट्टराईका अनुसार धड्कन बढ्दा मुटुका मांसपेशीहरूमा पनि स्ट्रेस पैदा हुने गर्दछ ।

कोभिड लागेर गम्भीर बिरामी भएका व्यक्तिमा निको भएपछि पनि यस्ता समस्या देखिएमा मुटु रोग विशेषज्ञसँग परामर्श लिनु पर्ने उनको सुझाव छ ।

खानपिनमा आएको परिवर्तनले पनि मुटु रोगी बढेका छन् । सहरीकरण हुँदै गर्दा आरामदायी जीवनशैलीले मानिसमा मुटुको समस्या देखिएको छ । जङ्क फुडको बढी प्रयोग, बोसो र मासुको बढी प्रयोग, शारीरिक व्यायामको कमीले मुटु रोगी बढेका छन् ।

भ¥याङ चढ्दा सास बढ्ने, सास फुल्ने, छाती भारी हुने, हिँड्दा छातीको देब्रे पट्टि दुख्ने, उक्त दुखाइ बायाँ हात र च्यापुतर्फ सर्ने, सामान्य काम गर्दा थकाइ महसुस हुने, खुट्टा सुन्निने, मुटुको धड्कनको चाल महसुस हुने जस्ता लक्षण मुटु रोगका सुरुवाती लक्षण हुन् ।

मुटु स्वस्थ्य राख्नका लागि खानपिनमा ध्यान दिने, जङ्क फुडहरू नखाने, खानामा नुन र चिनीको मात्रा कम गर्नु पर्दछ । ३५ वर्षभन्दा माथिको व्यक्तिले शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा कति छ भनेर नियमित चेक गर्नु पर्छ । कोलेस्ट्रोल र सुगरको मात्रालाई सामान्य अवस्थामा राख्ने, मधुमेहका बिरामीले नियमित जाँच गरेर सुगर कन्ट्रोल गर्ने, उच्च रक्तचापको बिरामीले औषधि सेवन गरेर वा डाक्टरको सल्लाहअनुसार प्रेसरलाई सामान्य अवस्थामा राख्नु पर्छ ।

डा. भट्टराईका अनुसार धूम्रपान र मद्यपान सेवन नगर्ने, तनाव नलिने, तनाव मुक्त हुने प्रयास गर्ने, समयमा उठ्ने, समयमा सुत्ने र नियमित व्यायाम गर्ने गर्नुपर्छ ।

नेपालमा जनसङ्ख्याको करिब २५ प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको मुटुको रोग देखा परेको छ । विश्वमा बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । मानिसको मृत्युको प्रमुख कारण अहिले मुटु रोग बनेको छ ।

लोकप्रिय