सानो मिल्टीखोला हाइड्रोपावरले अलपत्र पारेको भन्दै शेयरधनी आक्रोशित, हाइड्रो संचालन गर्न माग

काठमाडौं । सानो मिल्टीखोला हाइड्रोपावरका सञ्चालकहरुले हाइड्रोपावर अलपत्र पारेको भन्दै शेयरधनीहरुले विरोध जनाएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शेयरधनीहरुले विदेशमा पसिना बगाएको मजदुरहरुको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले ३५ दिने सुचना निकालेर ऋण तिर्न भनेपनि हाइड्रोपावर ७० दिन हुँदा सम्म चुप लागेर बसेको शेयरधनी चेतबहादुर बस्नेतले बताए । सञ्चालकहरुको जाय जेथा, चल अचल सम्पत्तिबाट असुलेर भनेपनि बिदेशमा बसेर पसिना बगाएका मजदुरहरुको पसिना नडुबाउन र हाइड्रो सञ्चालन गर्नुपर्ने माग गरे । रामेछापस्थित मन्थली नगरपालिका–१३ र १४ स्थित हाइड्रोपावर डुब्न लाग्दा शेयरधनीहरु डुब्ने खतरा बढेपछि आफूहरुको धारणा सार्वजनिक गरेका हुन् ।
बस्नेतले हाइड्रोपावरले आफुजस्तै ५ सय जना शेयरधनीहरुलाई अलपत्र पार्न खोजेको बताए । ‘हामी सबैले बिदेशको चर्को घाममा पसिना बेचेर कमाएको पैसा हो, हाम्रो पैसा सुरक्षित हुनुपर्छ । हाइड्रो जसरी पनि सञ्चालन गरिनुपर्छ ।’–उनले भने । ‘यो सञ्चालकहरुको बेइमानीको कारण आज हामीले दुःख पाएका छौ । हाम्रो पैसा फसाइदै छ ।’ एकजना शेयरधनीले १ लाख देखि १३ लाख रुपैयाँसम्म लगानी गरेको उनले बताए । उनले शेयरधनीहरुको पैसा लिएर सञ्चालकहरुले कामै नगरेको उनको भनाई थियो । हाइड्रोपावरले आफुहरुले देखिने गरेर जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको समेत उल्लेख गरे । उनले भने, ‘४ किलो बाटो पनि अरुको पनि लगानी छ भन्ने सुनेका छौ । त्यसमा पनि हाइड्रोको मात्र लगानी छैन् ।’ सकेसम्म विदेशमा कमाएका मजदुरको लगानी सुरक्षित होस्, नडुबोस् ।’
प्रतिकृया दिनुहोस्