राष्ट्रपतिले पदीय मर्यादा भुलेकै हुन् ?
काठमाडाैँ-नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको छ । तर पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैली संविधानकै विरुद्ध ठहर हुने खालका देखिन्छन् । नेपालको संविधान २०७२ ले राष्ट्रपतिमा कार्यकारी अधिकार दिएको छैन तर, राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गर्दै पदीय मर्यादा विपरितको कार्य गरिरहेका छन् ।
राष्ट्रपति भण्डारीले देखाएको राजनीतिक सक्रियता हेर्दा पदीय मर्यादा नाघेको प्रष्ट हुन्छ । कुनै पनि नागरिक राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुग्न सक्ने नेपाली नागरिकको हक हो । तर पदमा पुगेपछि पदीय मर्यादा कायम राख्नुपर्ने उसको पनि जिम्मेवारी हो ।
नेपालमा गणतन्त्रको स्थापना भएसँगै देशको पहिलो राष्ट्रपति डा. रामवरण यादवले पनि सम्हालिसकेका छन् । राष्ट्रपतिले यादवले जसरी संविधान अनुरुप पदीय दायित्व निर्वाह गरे, वर्तमान राष्ट्रपति भण्डारीले त्यसरी भूमिका निर्वाह गर्न सक्नुभएको छैन । उहाँको भूमिका निष्पक्ष नभएको आम जनसमुदायमा जगजाहेर नै छ ।
राष्ट्रपति भण्डारी सर्वोच्च पदमा रहेर सबैलाई समान व्यवहार गर्नुपर्नेमा, कुनै एउटा पार्टीको अझ कुनै गुट बिशेषको स्वार्थमा पदलाई प्रयोग गरिरहेको घाम झैं छर्लंग देखिन्छ । जुन जनभावना अनुकुल देखिंदैन । न त संबिधानले कल्पना गरेको पदको गरिमा अनुरुप नै देखिन्छ ।
पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र तत्कालिन प्रधानमन्त्री केपी ओलीका नितान्त स्वार्थका आपसी बिबादमा चाईनिज राजदुत होउ यान्छी समेत विवाद मिलाउन सक्रिय हुंदा हाम्रा महामहिम राष्ट्रपतिसमेत दिनदिनै सक्रिय भएको नेपाली समाजले पचाएको थिएन । अमुक पार्टीको आन्तरिक किचलोमा मर्यादित राष्ट्रपतिले चासो राखेर मध्यस्थता गर्नु अत्यन्त गलत थियो ।
अब फेरी नेकपा एमालेको झगडा मिलाउन राष्ट्रप्रतिलाई गुहार्नु र गुहार दिन जानु सम्वैधानिक राष्ट्रपतिको पदीय भूमिका होइन, सक्रिय राष्ट्रपतिको हो ।राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउने ईच्छा भए राजिनामा दिएर आउनुपर्छ, अन्यथा पदीय दायित्व अनुरुप बस्नुपर्छ ।
साँचै राष्ट्रपतिले निष्पक्ष भूमिका गरेको भए किन (मधेशवादी दलहरुको) जसपाको विवाद मिलाउन पनि क्रियाशिल हुनुपर्ने थियो, जसमा कुनै साधारण चासो पनि लिएको देखिंदैन ।
राष्ट्रपति भण्डारीमा अझै पनि देशको संबैधानिक राष्ट्रपति भन्दा एमालेको नेतृ भएको ह्याँग देखिन्छ । निवर्तमान प्रधानमन्त्री केपी ओलीको सत्ता स्वार्थमा मात्र राष्ट्रपति पद र शितल निवासलाई प्रयोग गरेको प्रष्ट हुन्छ । सम्मानित भएर बस्नुपर्ने राष्ट्रपति कोभिडको भ्याक्सिन माग्न बिदेश सामु पत्राचार गर्दा, चीनले बाहेक अरुले कुनै मुलुकले रेस्पोन्स गरेनन् ।
नबनियुक्त मन्त्रीको सपथ ग्रहणमा उपेक्षा भयो । देशकै पूर्व प्रधानमन्त्रीलाई सार्वजनिक रुपमै उल्लुबिल्ली गर्ने अशोभनीय हर्कत पनि नभएको हैन । सुध्रने र सुधार गर्ने अझै समय बाँकि छ, राष्ट्रपति पदको गरिमामय पदलाई कुनै पनि राजनैतिक दल बिशेषको आन्तरिक किचलोमा सिमित बनाउनु हुँदैन । राष्ट्रपति भोली अरु पनि हुनेछन् । गलत नजिर बस्ने, गलत काम गर्नु उचित हुँदैन ।
प्रतिकृया दिनुहोस्