पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच छलफल

पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच छलफल

काठमाडौं । महाकाली सन्धिअन्तर्गत रहेको पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतका मन्त्रीबीच छलफल चलेको छ ।

इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच बिहीबार भएको भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर टुंग्याउने विषयमा छलफल गरेका हुन् । भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिमरूप दिन र आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको छ।

टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिमरूप दिएर महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ । सप्तकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।

मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।

लोकप्रिय