प्रहरीले विना अनुमति शक्तिकेन्द्रसँग भेटघाट गर्न नपाउने
काठमाडौ । सरुवा बढुवामा दबाव परेपछि नेपाल प्रहरीका कर्मचारीलाई आफूभन्दा माथिल्लो अधिकारीबाट स्वीकृति नलिई राजनीतिक लगायत विभिन्न शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक लगाइएको छ ।
आकर्षक र सुगममा सरुवा गरिदिन मन्त्री, दलका नेता, बिचौलिया र व्यापारीमार्फत दबाब आउन थालेपछि प्रहरी प्रधान कार्यालयले स्वीकृतिबिना बाहिरी भेटघाटमा रोक लगाएको हो ।
देशभरका युनिटलाई हालै ‘सर्कुलर’ गरी ‘अफिसियल’ कामबाहेक बाहिरी मानिस कसैसँग भेटघाट गर्नुपरे माथिल्लो अधिकारीबाट स्वीकृति लिनुपर्ने प्रावधान लागू गरिएको हो । आदेश र परिपत्रको उल्लंघन गरे अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गरिने भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले सचेत गराएको छ ।
परिपत्रमा भनिएको छ, ‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाई तालुक कार्यालयमा जाहेरी गरी पूर्वस्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने भेटघाट, सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा संलग्न रहेरभएको पाइएमा त्यसलाई नै प्रमाणका रूपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयंगम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनीरसुनाई सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’


प्रतिकृया दिनुहोस्