उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा

उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा

 

काठमाडौ । पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमन विभागको नियन्त्रणमा परेको छ ।
उनीहरु नेपालमा रहेर पर्यटक भिसामा आएर कम्पनी रजिष्ट्रारको कार्यलयमा कम्पनी दर्ता गरी व्यवसाय सञ्चालन गरेपनि कम्पनीमा दर्ता भएको उद्देश्य विपरित अन्य व्यवसाय गर्न पाउने छैन । जुन व्यवसायिक उद्देश्यले दर्ता गरेको हो त्यसको विपरित गर्न नपाउने प्रावधान भएकाले उनीहरुलाई अध्यगमन विभागले नियन्त्रणमा लिएको जनाएको छ ।
अध्यगमन विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालका अनुसार बढी शंकास्पद लागेकाले उनीहरु माथि थप अनुसन्धान गर्न भइरहेको जनाएको हो ।
पर्यटक भिसामा नेपालमा बसोवास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा आज दुईजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएका दुबै जना पुरुष रहेका छन् ।
प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा निजहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गरी सम्पर्कका आधारमा विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको तथ्य खुलेको छ । उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भनी प्रचारप्रसार गरेतापनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई (एलआईयू जेयूएन होटेल विथ रेष्टुरेन्ट स्थापना गर्ने उद्देश्यले व्यवसायिक (व्यापार) भिसा प्राप्त गरे पनि प्रतिवद्धताअनुसार लगानी भित्र्याईएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोवास गरिरहेको पाइएको छ ।
उनीहरू सन् २०२४ मा चीनस्थित (तिबत हुइडा इन्टरनेशनल ट्रेड) तथा तथा सीज्याङ साङ चेङ हेल्थ इण्डष्ट्रीजका बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अभिलेख रहेको छ । नेपालमा रहँदा गैरकानूनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाली नागरिकको नाममा (नेपाल झाङनी ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट) नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्ने गरेको पाइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
नेपालको प्रचलित अध्यागमन कानूनबमोजिम विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सो बाहेक अन्य कार्य गर्न पाउने व्यवस्था छैन । भिसाको शर्त तथा उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको पाइएमा सम्बन्धित विदेशी नागरिकलाई अनुसन्धानपश्चात् प्रचलित कानूनबमोजिम जरिवाना गर्न, नेपालबाट निष्कासन गर्न तथा निश्चित अवधि वा अनिश्चित अवधिसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने व्यवस्था रहेको छ ।

लोकप्रिय