विपद्मा हवाई भाडामा मनपरी, पहिलेको भन्दा दोब्बरले बढ्यो भाडादर

विपद्मा हवाई भाडामा मनपरी, पहिलेको भन्दा दोब्बरले बढ्यो भाडादर

काठमाडौँ । अविरल वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको मौका छोपी हवाई सेवा प्रदायकहरुले यात्रुहरुसँग मनपरी भाडा लिन थालेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशभर यातायात सेवा प्रभावित भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका जोड्ने सबै नाका बन्द भएका छन् ।

यातायात सेवा प्रभावित हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरुले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ । यात्रुहरुको बाध्यताको फाइदा उठाउँदै एयरलाइन्सहरुले पहिलेको भन्दा दोब्बर भाडा असुल्न थालेका हुन् ।

यती एयरलाइन्सले काठमाडौँदेखि विराटनगरसम्मको भाडा ९ हजार ९०० रुपैयाँ तोकेको छ । जबकि पुरानो भाडा ५ हजार ७०० रुपैयाँ थियो । यती एयरलाइन्स मात्र हैन, बुद्ध एयरलाइन्सले पनि ९ हजार ९०३ रुपैयाँ तोकेको छ । त्यस्तै श्री एयरलाइन्सले पनि ९ हजार ९०० रुपैयाँ तोकेको छ ।

काठमाडौँदेखि विराटनगरको हवाई दूरी २३३ किलोमिटर छ। १०० किलोमिटरभन्दा केही बढी हवाई दूरी रहेको सुर्खेतको भाडा बुद्ध एयरलाइन्सले पहिलेको भन्दा बढाएर १४ हजार २७ रुपैयाँ तोकेको छ । जबकि पुरानो भाडा करिब ७ हजार थियो । तर सुर्खेतदेखि काठमाडौँको भाडा भनेर ५ हजार ५०० रहेको छ । यसो हुनुको प्रमुख कारण भने सुर्खेतबाट काठमाडौँ आउने यात्रु कम हुनु हो ।

काठमाडौँदेखि सुर्खेतको हवाई दूरी ४२० किलोमिटर छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत यात्रुहरुसँग बढी भाडा नलिन एयरलाइन्सहरुलाई आग्रह गरेका छन् । हवाई भाडा अरुबेलाको भन्दा महँगो भएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले विपतको समयमा यात्रुहरुसँग सकेसम्म पहिलेको भन्दा सहुलियत मूल्यमा नभए पनि पहिलेको दरमा भाडा लिन वायु सेवा प्रदायकहरुलाई आग्रह गरेका छन् । विपद्को फाइदा उठाउँदै हवाई कम्पनीहरुले मनपरी भाडा बढाएपछि भने सामाजिक संजालमा चर्को विरोध र आलोचना भइरहेको छ ।

लोकप्रिय