विपद व्यवस्थापनमा सक्रिय बन्दै स्थानीय तह
काठमाडौँ । प्राकृतिक प्रकोपको न्यूनिकरण तथा उद्दार कार्यमा संघीय र प्रदेश सरकार भन्दा स्थानीय सरकार निकै सक्रिय देखिएका छन् । यही असोज १२ र १३ गतेको बाढी पहिरोले १२ जिल्लाका ४३ वटा पालिकामा ठुलो क्षति पुयाएको भन्दै सरकारले ती क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, रोशी गाउँपालिका काभ्रे, कोन्ज्योसम गाउँपालिका, बाग्मती गाउँपालिका, महाङ्काल गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका लगायतका देशैभरका स्थानीय ४३ तहले ठूलो मात्रामा प्राकृतिक विपत्ति खेपेका छन् । त्यसोत बाढी पहिरोकोे चपेटामा परेका स्थानीयबासीको उद्दार तथा राहतमा स्थानीय तहहरुले अहोरात्र खटेर पीडितलाई महसुस गराएका छन् ।
ललितपुर महाङ्काल गाउँपालिकाले विपद लक्षित् गरि सहयोगको लागि सबै संग अनुरोध गरेको छ । पालिकाको सदरमुकाम गोटीखेल बजार २ नम्बर वडाको मानिखेल र १ नम्बर वडाको बुखेल बढी प्रभावित् भएका छन भने पालिका भित्र रहेका सबै सडक संजाल बिच्छेद भएको थियो । गाउँपालिकाले खाद्यान्न लत्ता कपडा देखि औषधि लगायतका स्वास्थ्य सामाग्री समेत सहयोग गर्न सुचना मार्फत अपिल गरेको छ। लेलेबाट नल्लु -चौघरे -ठोस्नेखोला- उनिउ चौर – माथिल्लो मानिखेल कतवन भन्याङ हुँदै गोटीखेलसम्म जानेबाटोको पहिरो पन्छाउने काम सकिइसकेको आवात जावात गर्न सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिएका छन् ।
यस्तै ललितपुर महानगरपापिलकाका प्रमुख चिरीबाबु महर्जनले डुंगा नहुँदा उद्धारमा समस्या भएको बताएका छन् । हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको उनले बताए । ‘अब पाँच वटा डुंगा किन्छौं,’ उनले भने । आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने उनको भनाइ छ । ‘चार–पाँच वटा डुंगा किनेर राख्छौं । यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं,’ उनले भने ।
यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिकाका विभिन्न बाढीपीडित वस्तीहरुमा राहत सामग्री वितरण, स्वास्थ्य चेकजाँच, पशु स्वास्थ्य सिविर जस्ता कार्यहरु नगरपालिकाबाट गरिरहेको छ । विपद्को समयमा सहयोग पुर्याउने राजनीतिक दलका नेता, विकास साझेदार संस्थाहरु, स्थानीय व्यवसायी एवम् संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी सबैमा हार्दिक आभार व्यक्त गर्दै स्थानीय तहले विपद् न्यूनिकरणमा थप कडाईइका साथ लाग्ने बताएको छ ।
यता मध्यपुर थिमि नगरपालिकाले विपद् न्यूनिकरणको लागि टोलि नै परिचालन गरेको छ । नगरपालिकाले अहिले लोहकिल्थली मनोहरा जग्गा एकिकरण आयोजनाको आँखा अस्पताल क्षेत्रमा हनुमन्ते र मनोहरा खोलाको बहाव पसेर जमेको हिलो माटो सरसफाई गरेको छ । यस्तै काठमाडौँ महानगरपालिकाले खोला तथा नदि आसपाका क्षेत्रमा विपद् पस्यात अध्ययन तथा व्यवस्थापनको काम गरीरहेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विपद् व्यवस्थापनको लागि नगर प्रहरीको टोलि अहिले पनि परिचालनमा रहेको बताएका छन् । महानगरले आपतकालीन अवस्थाको लागि निःशुल्क एम्बुलेन्स तयारी अवस्थामा रहेको र कुनै जोखिम भएमा तत्काल हटलाईन नम्बरहरुः १६६००१०५५११, ११८०, महानगर प्रहरीको हटलाईन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाको बारेमा जानकारी दिन समेत भनिरहेको छ ।


प्रतिकृया दिनुहोस्