सरकार विरुद्ध भईरहेको षड्यन्त्रको प्रतिकार गर्न नेता मल्लको आह्वान
काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य किशोर विक्रम मल्लले केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध भईरहेकाले षड्यन्त्रविरुद्ध कडा रुपमा प्रस्तुत हुन आम राष्ट्रवादी, विकासप्रेमी र न्यायप्रेमी जनसमुदायलाई आह्वान गरेका छन् ।
नेकपा एमाले स्याङ्गजा–काठमाडौ सम्पर्क मञ्चद्वारा आज राजधानीमा आयोजित विजयादशमी, शुभ दिपाली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मल्लले सो कुराको आह्वान गरेका हुन् ।
उनले भने, ‘सरकारले राम्रो काम गरिरहँदा पनि देशी विदेशी तत्वहरुबाट राष्ट्रप्रेमी र विकासप्रेमी प्रधानमन्त्री ओलीविरुद्ध गलत हौवा फैल्याउने गतिविधि भईरहेको छ । त्यस्ता गलत कार्यको प्रतिकार गर्न पार्टीपंक्ति लगायत आम राष्ट्रवादी, विकासप्रेमी र न्यायप्रेमी जनसमुदायलाई आग्रह गर्दछु ।’
अनेरास्वविय तथा प्रतिनिधिसभा क्षेत्र–२ स्याङ्गजाका इन्चार्ज समेत रहेका मल्लले वर्तमान ओली नेतृत्वको सरकारले विकास र सुशासनमा उल्लेख्य काम गरेको दाबी गरेका छन् ।
उनले भने, ‘सरकारले सुनकोशी मरिण डाइभर्सन, मध्यपहाडी लोकमार्ग, नागढुँगा सुरुङमार्ग सम्पन्न गरेको छ त्यतिमात्र होइन ठुला ठुला सहकारी ठगहरुलाई कारबाहीको दायरामा ल्याएको छ । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइएको छ ।’
कार्यक्रममा बोल्दै उनले सहकारी ठगी काण्डमा मुछिएका रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेका व्यावसायिक पार्टनर जीबी राईलाई सरकारले छिट्टै सार्वजनिक गर्ने रहस्य खोलेका छन् । उनले भने, ‘सरकार जीबी राईको नजिक पुगिसकेको छ । केही दिनमा उनलाई सरकारले नेपाल ल्याउँछ र सहकारी ठगी प्रकरणलाई चाँडो भन्दा चाँडो टुँगोमा पु¥याउँछ ।’
सरकारले हालै सार्वजनिक गरेको १०० दिने प्रगतिविवरणमा समेत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू भएको नेता मल्लले दाबी गरे ।
उनले विजयादशमी, शुद्ध दिपावली तथा छठ पर्वको अवसरमा आमाबुवा, दाजुभाई तथा दिदीबहिनी लगायत देश विदेशमा रहेका सम्पूर्ण स्याङ्गजालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
सुरज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य इन्द्र भण्डारी, सम्पर्क समन्वय कमिटीका संयोजक अमृता अधिकारी, गण्डकी प्रदेश सम्पर्क कमिटी अध्यक्ष राजेन्द्र आचार्य, स्याङ्गजा क्षेत्र नं. १ का अध्यक्ष राम कुँवर, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संचालक अधिवक्ता नारद मुनि सिग्देलले गरेका थिए । कार्यक्रममा उपस्थित सबै व्यक्तित्वहरुले शुभकामना आदान प्रदान गरेका थिए ।


प्रतिकृया दिनुहोस्