सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्यलाई हटाउनुपर्छ : अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्यलाई हटाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
जलन दूर्घटना जस्तो संवेदनशील विषयमा मानवीयताको ख्यालै नगरी आचारहीन र तथ्यहीन टिकाटिप्पणी हुनुलाई उहाँले असभ्यताको पराकाष्ठाको संज्ञा दिएका हुन्।
अध्यक्ष बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राख्नुभएको छ। सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उहाँले तथ्यसहितका सृजनात्मक सामाग्री हुनुपर्ने सुझाव दिएका छन्।
‘नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपयुक्त हुन्छ,’ सामाजिक सञ्जालमा नकारात्मकतालाई प्रसय दिन नहुने तर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले भने।
‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्धेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ,’ बस्नेतको फेसबुकमा छ।
उनले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै आफ्नो संस्कृति आफै मिचेर बलवान नहुने तर्फ सबैको ध्यानाकर्षण समेत गराएका छन्।
पछिल्लो समय बेलुन दूर्घटना भई जलनमा परेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकरात्मक सामाग्रीप्रति लक्ष्य गर्दै अध्यक्ष बस्नेतले त्यसलाई असभ्य भनी टिप्पणी गरेका छन्।
‘जलन दूर्घटना जस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो,’ उनले भने।


प्रतिकृया दिनुहोस्