देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति रहेको बताउनुभएको छ ।
नेपाल जेसिजले बाराको सिमरामा आयोजना गरेको ‘लोम लिडर्स एकेडेमी २०२५’ को उद्घाटन समारोहमा उहाँले पर्याप्त युवा जनशक्ति भएर पनि देश आर्थिक विकास र पूर्वाधार निर्माणको पक्षमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री पौडेलले परनिर्भरताको मनोविज्ञानलाई त्यागेर देशभित्रै भएको शक्तिलाई प्रयोग गर्ने सामथ्र्य विकास गर्नु अपरिहार्य भइसकेको बताउनुभयो ।
“युवा जनशक्तिको गन्तव्य अन्य देश हुनु अहिलेको जटिल समस्या हो । युवालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु उद्यमशीलतामा जोड दिनुपर्छ । यसका लागि व्यवसायमैत्री नीति बनाएर विदेशी लगानी भित्र्याउने, स्वदेशको रकम स्वदेशमै लगानी गर्ने र युवा जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्नतर्फ सबै गम्भीर भएर लागौँ”, उहाँले भन्नुभयो ।
राज्यले लगानी गरेर उत्पादन गरेको प्राविधिक जनशक्तिसमेत विदेसिने क्रम बढिरहेको भन्दै मन्त्री पौडेलले राज्यको नीतिगत क्षेत्रमा युवाको उपस्थिति अपरिहार्य रहेकामा जोड दिनुभयो । उहाँले युवा नेतृत्व निर्माणका क्षेत्रमा काम गर्दै आएको जेसिजलाई व्यक्तित्व विकाससँगै नीतिगत क्षेत्रमा केन्द्रित भएर काम गर्ने जनशक्ति उत्पादन गर्न सुझाव दिनुभयो ।


प्रतिकृया दिनुहोस्